• १० भदौ २०८१, सोमबार

सहभागितामै सीमित ओलम्पिकमा पाराले जगाएको आशा

blog

पेरिस पारालिम्पिकका लागि तयारी गर्दै नेपाली खेलाडी ।

काठमाडौँ, भदौ १० गते । ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा भर्खर सम्पन्न भएको छ । पेरिस ओलम्पिकमा नेपालले ६ खेलमा सात खेलाडी सहभागी गराएको थियो । 

सहभागी सात खेलाडीमध्ये पौडीमा एलेक्सजेन्डर शाहले राष्ट्रिय कीर्तिमान रच्नु र महिला म्याराथनमा सन्तोषी श्रेष्ठले दौड पूरा गर्नु नेपालका लागि सफलता बन्यो । 

ओलम्पिकमा सहभागी टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिनुभयो । 

श्यान्टु श्रेष्ठले छनोट चरण पार गर्दै ओलम्पिक यात्रा तय गर्नुभएको हो । नेपालको लागि ओलम्पिक विगतको जस्तै सहभागितामा सीमित बन्यो । 

यसपटक पनि ओलम्पिक खेलकुद नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल सङ्घका पदाधिकारीलाई युरोप घुम्ने मेसो मात्र बन्यो । ओलम्पिकमा सात खेलाडी सहभागी गराए पनि नेपालबाट दुई दर्जन बढी पदाधिकारी फ्रान्स भ्रमणमा गएका थिए । प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकमा नेपालले सन् १९६४ देखि सहभागिता जनाउँदै आएको हो । 

नेपालको आशा पारा तेक्वान्दोमा 

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले ओलम्पिक खेलकुदको महाकुम्भ सकिएपछि सोही स्थानमा पारालिम्पिक खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । शारीरिक रूपमा अपाङ्गता वा विशेष क्षमता भएका व्यक्तिलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्ने उद्देश्यले आईओसीले पारालिम्पिक आयोजना गरेको हो । 


पारा खेलकुद एसियन गेम्सदेखि ओलम्पिकसम्म समावेश छ । सोही अनुसार पारालिम्पिक गेम्स भदौ १२ गते बुधबारदेखि पेरिसमा सुरु हुँदैछ । भदौ २३ गतेसम्म सञ्चालन हुने पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोका दुई र पौडीका एक गरी तीन खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

ओलम्पिकमा अहिलेसम्म पदक जित्न नसकेको नेपालका लागि यसपटक पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनबाट पदकको अपेक्षा गरिएको छ । पलेसा चीनमा गतवर्ष भएको एसियाली खेलकुद (एसियाड) मा समेत कांस्य पदक विजेता हुनुहुन्छ । 

पलेसाले चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि फाइनलमा इरानकी लेइला मिर्जाईलाई ५–४ ले हराउँदै पेरिस यात्रा तय गर्नुभएको थियो । पलेसा पारालिम्पिकमा छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी समेत बन्नुभएको छ । 


पलेसासँग अघिल्लो संस्करणमा टोकियो पारालिम्पिक खेलेको समेत अनुभव रहेकोले उहाँमा उच्च मनोबल रहेको प्रशिक्षक कविराज नेगी लामा बताउनुहुन्छ । ‘‘पेरिसमा नेपाली खेलाडीबाट उत्कृष्ट प्रदर्शन हुनेमा म विश्वस्त छु । टोकियो ओलम्पिकको तुलनामा हामीले धेरै अभ्यास गरेका छौँ । टोकियोमा पलेसाले वाइल्ड कार्डमार्फत भाग लिनुभएको थियो । यसपटक पलेसा छनोट चरण पार गरेर आएकोले धेरै राम्रो भएको छ । वाइल्ड कार्डमार्फत छनोट भए पनि भरतसिंह महताको प्रदर्शन पनि राम्रो छ,’’ नेगीले भन्नुभयो । 

पेरिस पारालिम्पिक अघि नेपाली टोली अन्तिम तयारी लन्डनमा गरेको छ । राम्रो तयारी र म्याच एक्सपोजर पनि प्राप्त भएकाले पेरिसमा उत्कृष्ट प्रदर्शन हुन्छ भन्नेमा विश्वस्त छु । हाम्रो लक्ष्य पदक जित्नु हो,’’ प्रशिक्षक नेगीले भन्नुभयो । 


प्रशिक्षक नेगीकाअनुसार पारालिम्पिकका लागि एसियाली छनोटमा नेपालबाट पलेसासँगै दुईजना पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमिर ब्लोन पदकविहीन बन्नुभयो। एक ‘बाउट’ जित्नुभएका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गर्नुभएको थियो । 

वाइल्ड कार्डमार्फत भरतको पेरिस पारालिम्पिक खेल्ने सपना पूरा भएको हो । दार्चुलाको अपिहिमाल गाउँपालिका–८ का २७ वर्षीय महताले के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । उक्त तौल समूहमा जम्मा १२ खेलाडी छन् ।

महताले पछिल्लो १८ महिनादेखि राष्ट्रिय टोलीमा रहेर अभ्यास गर्दै आउनुभएको थियो । पारालिम्पिकमा सहभागिता जनाउन नेपाली पारा टोली सोमबार लन्डनबाट पेरिस गएको छ । 

पौडीमा कुमालको परिक्षा 

पेरिस पारालिम्पिकमा पारा पौडी खेलाडी भीमबहादुर कुमालले पौडीमा प्रतिस्पर्धा गर्नुहुनेछ । विश्व पारा पौडीबाट ‘वाइल्ड कार्ड’ पाएपछि भीमले ओलम्पिक खेल्ने निश्चित भएको हो । 

पेरिस पारालिम्पिकमा उहाँले पुरुष ५० मिटर फ्रीस्टाइल एस ९ विधामा प्रतिस्पर्धा गर्नुहुनेछ । यस स्पर्धामा उहाँकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । 


गोरखा जिल्लको नारेश्वर बेनी खोलाका ४१ वर्षीय भीमले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन पारा गेम्समा पौडीमा प्रतिस्पर्धा गर्नुभएको थियो। यस्तै, उहाँले गत वर्ष चीनमा भएको चौथो पारा एसियन गेम्समा पनि सहभागिता जनाउनुभएको थियो । 

पारालिम्पिकमा नेपाल 

शारीरिक रूपमा अपाङ्गता वा विशेष क्षमता भएका व्यक्तिले खेल्ने खेल पारा खेलकुदको ओलम्पिकले भर्खर पाँचौँ संस्करण पूरा गर्दैछ । 

नेपाली पार खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लामो समयदेखि सहभागिता जनाए पनि पारालिम्पिकमा उनीहरूको सहभागिता निकै पछि भएको हो । 

नेपालले सन् २००४ को ग्रिस पारालिम्पिक देखि सहभागिता जनाएको हो । सो पारालिम्पिकमा वाइल्ड कार्डमार्फत नेपालका पारा खेलाडी निर्मला ज्ञवालीले एथलेटिक्समा प्रतिस्पर्धा गर्नुभएको थियो । 

त्यसपछि सन् २००८ को बेइजिङ ओलम्पिकमा जितबहादुर खड्काले एथलेटिक्सको एक सय मिटरमा प्रतिस्पर्धा गर्नुभयो । जितबहादुरको २०७२ सालको भूकम्पमा परि निधन भएको थियो । 



यस्तै सन् २०१२ को लण्डन पारालिम्पिकमा नेपाली पारा एथलेटिक्स खेलाडी मैयाँ बिशंखे र विक्रमबहादुर राणाले प्रतिस्पर्धा गर्नुभयो । त्यसपछि विक्रमसँगै पौडीकी लक्ष्मी कुँवरले सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पारालिम्पिकमा नेपालको चुनौती प्रस्तुत गर्नुभयो । 

शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता पेरिस पारालिम्पिकमा यस पटक एक सय ७० देशका चार हजार चार खेलाडीले विभिन्न २२ खेलमा प्रतिस्पर्धा गर्दैछन् । 

नेपालले पारालिम्पिकमा पदकको आससहित खेलाडीहरूको लन्डनमा वैदेशिक प्रशिक्षण समेत गराएको छ । त्यसैले पेरिस पारालिम्पिकमा यसपटक नेपालले पदक जित्ने अपेक्षा गरिएको छ ।