• ९ भदौ २०८१, आइतबार

भारतमा बस दुर्घटनामा बारागढीका ४५ तीर्थयात्री घाइते

blog

बारा, भदौ ९ गते । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राती भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् ।

उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुबाेध साह तेली र नौ वर्षीया बालिका छन् । ना७ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उहाँले बताउनुभयो । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए ।

“बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका–३ मूर्तिपलियाका  रहेको जानकारी पाइएको छ”, प्रहरी नायब उपरीक्षक सापकोटाले भन्नुभयो । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामूहिक पूजापाठसमेत गरेका बताइएको छ । सो बस बारागढी–१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस