• ९ भदौ २०८१, आइतबार

रामेछापमा पहिरोले दुईको मृत्यु, आठ बेपत्ता

blog

नवराज श्रेष्ठ

रामेछाप, भदौ ९ गते । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । 

एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति  ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जना मध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको लास निकालिएको छ । चण्डीका स्थानीय एक आधारभूत विद्यालयका शिक्षिका हुन् । बेपत्ता भनिएका ८ जना मध्ये स्थानीय उर्मिला पहरीको घरमा रहेका ४ जना , काले पहरीको घरमा बसेका ३ जना र एक घरमा रहेकी एक महिलाको खोज कार्य जारी रहेको वडा सदस्य कँडेलले बताउनुभयो ।

बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका ह्युमपाइप बगाएको स्थानीयले बताएका छन् ।