काठमाडौँ, वैशाख १५ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको ३४औँ खेलमा टोट्टनहामलाई ५–१ गोलले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।
लिभर लिगको चार खेल अगावै च्याम्पियन बन्यो । खेलमा सुरुवाती अग्रता भने टोट्टनहामले लिएको थियो । १२औँ मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । तर चार मिनेटलगत्यै लुइस डिआजले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनुभयो ।
त्यसपछि एलिस्टर म्याक एलिस्टरले २४औँ, कोडी गाक्पोले ३४औँ, मोहम्मद सलाहले ६३औँ मिनेटमा गोेल गर्नुभयो । लिभरपुलले पाँचौँ गोल ६९औं मिनेटमा विपक्षी डेस्टिनी उडोगीले आत्माघाती गोल उपहार पाएको थियो ।
जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ६७ अङ्क छ । च्याम्पियन लिभरपुलले २५ खेलमा जित, दुई हार र बाँकी बराबरी खेल्यो । लिग जित्ने क्रममा ८० गोल गर्दा ३२ गोल खाएको थियो । पराजित टोट्टनहाम ३७ अङ्कसहित १६औँ स्थानमा छ । एजेन्सी