• १५ वैशाख २०८२, सोमबार

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल

blog

नेकपा (एमाले)का महासचिव शंकर पोख्रेल।

सन्तोष दहित

दाङ, वैशाख १४ गते। सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताउनुभएको छ। 

उहाँले शिक्षकको आन्दोलनलाई मुठभेडमा लैजान केही तत्त्व लागि परेकोले सम्बन्धित निकायलाई सजगता अपनाउनसमेत आग्रह गर्नुभएको छ। ‘आजको घटना दुःखद भयो’, उहाँले सामाजिक संजालमार्फत भन्नुभयो, ‘शिक्षकको आन्दोनमा सजगताको खाँचो छ।’

आइतबारको आन्दोलनका घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै महासचिव पोख्रेलले भन्नुभयो,‘शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोशिस गरिरहेको र वार्ता समेत सकारात्मक ढंगले अघि बढेका बेलामा आज भएको मुठभेड नियोजित देखिन्छ।’ 

शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरुप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उहाँले बताउनुभयो।  ‘सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुबैको दायित्व हो’, महासचिव पोख्रेलले भन्नुभयो, ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन।’

साथै उहाँले दुबैपक्ष गम्भीर ढंगले वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न समेत सुझाव दिनुभयो।