• १ चैत २०८२, आइतबार

जनताका मुद्दा संसद्‌मा उठाउने सांसद भुसालको प्रतिबद्धता

blog

पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसाल ।

साजन परियार

पर्वत, चैत्र १ गते। पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्‍मा बुलन्द रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न वडावडामै पुग्नुभएका सांसद भुसालले जनताको समस्या नजिकबाट बुझदै ती मुद्दालाई संसद्‍मा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता गर्नुभएको हो ।

घरदैलो र भेटघाटका क्रममा स्थानीयले विगतमा निर्वाचित सांसदहरू गाउँमा नफर्किएको गुनासो गरेका थिए ।सोही सन्दर्भमा भुसालले आफू नियमित रुपमा जनताको बीचमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सांसद भुसालले महिनामा कम्तीमा एक पटक जनताको घरदैलोमा पुग्ने र प्रत्येक महिनामा एउटा पालिकामा तीन दिन बस्दै स्थानीय समस्याबारे जानकारी लिने योजना रहेको बताउनुभयो । 

गाउँ क्षेत्रमा बढ्दै गएको बाँदर आतङ्कलाई पनि प्रमुख समस्याका रुपमा उठाउँदै भुसालले यसको दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

 ‘गाउँमा बाँदर आतङ्क व्यापक रुपमा बढेको छ । बस्तीहरू उजाडिँदै गएका छन् ।बाँदरका कारण गाउँमा बस्ने वातावरण नै छैन,’ सांसद भुसालले भन्नुभयो, ‘‘यसको नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न आवश्यक पहल गर्छु ।’’     

वि.सं. २०३८ सालमा पर्वत जिल्लाको फलेबास नगरपालिका–६ देविस्थानमा बुवा मेघनाथ भुसाल र आमा पवित्रा भुसालको कान्छो सन्तानका रूपमा सागर भुसालको जन्म भएको हो । 

बाल्यकालदेखि नै सामाजिक र राजनीतिक विषयमा चासो राख्ने स्वभावका भुसालले स्थानीय स्तरका गतिविधिमा सक्रियता देखाउँदै आफ्नो पहिचान बनाउँदै आउनुभएको थियो । 

प्रारम्भिक शिक्षा गाउँमै पूरा गरेपछि उहाँले एसएलसी उत्तीर्ण गरी आईए अध्ययनका लागि भर्ना हुनुभएको थियो । 

तर अध्ययनकै क्रममा रोजगारीका लागि विदेश जाने निर्णय गर्दै उहाँ इजरायल पुग्नुभयो ।करिब नौ वर्ष इजरायलमा बसेर अनुभव बटुलेपछि स्वदेश फर्किनु भएका भुसालले पोखरामा पर्यटन तथा उद्योगव्यवसाय क्षेत्रमा लगानी गर्दै व्यवसायीका रूपमा आफ्नो यात्रा अघि बढाउनुभयो ।

व्यवसायसँगै उहाँले सामाजिक तथा राजनीतिक गतिविधिमा पनि सक्रियता बढाउँदै लाग्नुभयो । नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल तरुण दल पर्वतको सचिव पदमा रहेर संगठन विस्तार र पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएका भुसाल स्थानीय राजनीतिमा चिनिने नाम बन्नुभयो । 

२०७४ र २०७९ मा सम्पन्न स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यही सक्रियताकै आधारमा उहाँ प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बन्नुभयो।निर्वाचनमा उहाँले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १० हजार ६०७ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल हुनुभयो ।

सामाजिक सक्रियता, विदेश अनुभव, व्यवसायिक पृष्ठभूमि र राजनीतिक यात्राको संगमका रूपमा सागर भुसाल अहिले पर्वत जिल्लाबाट प्रतिनिधि सभामा जनताको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको छ ।