लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख १५ गते । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणसम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सोमबार जनकपुरधाममा सुरु भएको छ ।
कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा सक्षम, सबल र समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यका साथ सो कार्यक्रमको आयोजना गरिएको कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले बताउनुभयो । उहाँले उक्त कार्यक्रममा प्रदेश समृद्ध बनाउन आवश्यक योजना र प्राथमिकताका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो ।
सभापति यादवका अनुसार विगतमा टुक्रे योजनाले भ्रष्टाचार बढाएको अनुभवलाई ध्यानमा राख्दै अबको बजेट निर्माण प्रक्रियामा व्यापक सल्लाह सुझाव सङ्कलन गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो ।
मधेश प्रदेशमा अर्थमन्त्रालयको जिम्मेवारी कांग्रेसले पाएको हुँदा प्रदेश, जिल्ला र क्षेत्र स्तरमा बजेट निर्माणमा अपनत्व कायम गरी सहभागी जनाउन यसको थालनी गरिएको कांग्रेस प्रदेश कार्यालय सचिव सन्तुप्रसाद यादवले बताउनुभयो । उहाँले यस्तो कार्यक्रम मुलुकमै पहिलो पटक भएको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदहरू, प्रत्याशीहरू, केन्द्रीय पदाधिकारी र सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेशसभा सदस्यहरू र प्रत्याशीहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरू सहभागी रहेका छन् ।