• ९ भदौ २०८१, आइतबार

नाचघरमा हास्यव्यङ्ग्यको फोहरा

blog

काठमाडौँ, भदौ ९ गते । काठमाडौँस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘गाईजात्रा महोत्सव २०८१’ मा विभिन्न हास्य कलाकारले सहकारी मुद्दादेखि राजनीतिक गतिविधिसम्मका कुरालाई व्यङ्ग्यात्मक शैलीमा आआफ्नो प्रस्तुति दिनुभएको छ । देशमा भएका मुख्य घटनाक्रमदेखि विभिन्न मुद्दालाई हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा हास्य कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् । वर्षभरि राजनीतिमा भएको खिचातानी र जनताले दिनहुँ जसो भोगेका समस्या ‘गाईजात्रा महोत्सव २०८१’ मा देखाइएको छ । महोत्सवमा कलाकारको प्रस्तुति भिन्न भए पनि त्यसमा देखिएका विषय भने एउटै जस्तो लाग्छ । सबैको व्यङ्ग्य राजनीतिमा अड्किएको देखिन्छ । 

लक्ष्मण गाम्नागेका राजनीतिक घोचपेचका व्यङ्ग्यात्मक कवितादेखि लिएर धुर्मुस–सुन्तलीको महिला र पुरुष समान हुन्, घरेलु श्रममा महिला मात्र नभएर पुरुष पनि सामेल हुनु पर्छ भन्ने व्यङ्ग्यात्मक प्रहसनले दर्शकलाई मनोरञ्जन दिएको थियो । साथै धुर्मुस–सुन्तलीले नेतामाथि गर्नुभएको व्यङ्ग्यात्मक प्रस्तुतिमा हल तालीले गुञ्जायमान भएको थियो । 

सुयशा खनाल र सन्तोष खनालले गर्नुभएको नेता निवासमा ‘मामा छोरी’ प्रहसनमा समाजमा शिक्षक र विद्यार्थी आफ्नो आचरणमा नबसेको कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको थियो । साथै सहिदको अवमूल्यनमा तिखो प्रहार गर्दै खराब नेताको जगजगी रहेको देखाइएको छ । 

त्यस्तै खड्गबहादुर पुनमगर (खबपु) र दिनेश काफ्ले हाउडे दाइको चिया अड्डा प्रहसनमा देशका विभिन्न काण्डलाई चियाको माध्यमबाट पेचिलो प्रहार गरिएको थियो । ललिता निवास चिया, वाइडबडी चिया, युट्युब चिया, सहकारी चियाले देशमा के कस्तो विकृति फैलाएको छ भन्ने कुरा उक्त प्रहसनमा प्रस्तुत गरिएको थियो । साथै किसानको श्रमलाई बिचौलियाले शोषण गरिरहेको कुरालाई पनि व्यङ्ग्य गरिएको थियो । 

यस्तै हिमेश पन्तले समसामायिक राजनीतिको विकृतिमाथि व्यङ्ग्य गर्नुका साथै आफैँ चुनाव लडेको दल रास्वपालाई व्यङ्ग्यात्मक शैलीमा पेचिलो प्रहार गर्नुभएको थियो । महोत्सवमा शिवशङ्कर रिजाल (जोगिन्दर) र सुरेन्द्र केसी (मुला साग) ले आफ्नो प्रहसनमार्फत देशको सिमाना रक्षाका लागि सबै नेपाली एकजुट हुनु पर्छ भन्ने सन्देश दिनुभएको थियो । कार्यक्रम प्रस्तोता राजा राजेन्द्र पोखरेलले पनि समसमायिक राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य पस्किनुभएको थियो, जसले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो ।  

समग्रमा ‘गाईजात्रा महोत्सव २०८१’ मा कलाकारले आर्थिक, सामाजिक र राजनीतिक सूत्रमा देखिएका विकृति र विसङ्गतिको जड खराब नेता नै हो भन्ने निक्र्योल निकाल्दै व्यङ्ग्य प्रहार गरेका थिए । सबै प्रहसनमा अन्य विषयमा भन्दा पनि राजनीतिमाथि नै व्यङ्ग्य प्रहार गर्न खोजिएको थियो । साथै देशको सीमा सुरक्षा, युवा बेरोजगारी, शिक्षामा देखिएका विकृति विसङ्गतिलाई जडैबाट उखल्नु जरुरी छ भन्ने सन्देश पनि कलाकारले आआफ्नो प्रहसनमा दिएका थिए । खड्गबहादुर पुनमगर (खबपु) र दिनेश काफ्ले गरेका हाउडे दाइको चिया अड्डा प्रहसनले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाएको थियो भने अन्य कलाकारको प्रहसन सन्देशमूलकसहित ठिकठाक थियो ।