अमरराज नहर्की
तनहुँ, भदौ १९ गते । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारमा प्रमुख बाधक बनेको विद्युत पोल सार्ने काम तदारुकताका साथ भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले पोल सार्ने कार्यलाई द्रुत रूपमा अघि बढाएएको हो ।
आँबुखैरेनी–गुणादी खण्डको ६२ प्रतिशत र थर्पु–मनहरी–सेराटार खण्डको ९५ प्रतिशत काम सम्पन्न भएको प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो ।
सदरमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन ढिलाइ हुँदा केही काम प्रभावित भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार नयाँ पोल राख्ने तथा प्रसारण लाइन सुधार कार्य नेपाल विद्युत प्राधिकरण र सडक विस्तार आयोजनाको संयुक्त लगानीमा भइरहेको हो । यसका लागि आँबुखैरेनी–गुणादी खण्डमा ४१ करोड ५० लाख ४९ हजार ८७६ रुपियाँ र थर्पु–मनहरी–सेराटार खण्डमा ४ करोड १५ लाख ६ हजार २२१ रुपियाँ, कुल ४५ करोड ६५ लाख ५६ हजार ९७ रुपियाँ खर्च हुने छ । यस क्रममा पहिलाका ११ मिटर अग्ला पोललाई प्रतिस्थापन गरी हाल १३ मिटर अग्ला पोल राखिएका छन् ।
तनहुँ वितरण अन्तर्गत दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। आँबुखैरेनी–गुणादी खण्डमा झन्कार जेभीले र थर्पु–मनहरी खण्डमा विडारी कन्स्ट्रक्सनले पोल सार्ने काम गरिरहेका छन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन भइरहेको मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने लक्ष्य छ । वि।सं। २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढ्दै गएपछि विस्तारको आवश्यकता देखिएको हो ।
पूर्वी खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँ र पश्चिम खण्डको ७ अर्ब ४० करोड ४६ लाख रुपियाँ रहेको छ । विस्तारपछि ग्रामीण क्षेत्रमा सडक चौडाइ दुईतर्फी २५–२५ मिटर गरी ५० मिटर र सहरी क्षेत्रमा दुईतर्फी २३–२३ मिटर गरी ४६ मिटर हुने जनाइएको छ ।
डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटर चौडाइको सडक बन्नेछ । त्यस्तै, दुलेगौँडाबाट खैरेनीटार, कोत्रेबजार हुँदै कास्कीको गगनगौँडाबाट पोखरा प्रवेशसम्म सडक चौडाइ ४६ मिटर हुनेछ । सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक निर्माण गरिने सम्झौतामा उल्लेख छ ।