सान फ्रान्सिस्को, भदौ १९ गते । अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो ।
कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ । ‘एनथ्रपिक’ एक अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणाली विकास गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो ।
एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीनरूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दै छ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणाली पर्छन् । यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह-नेतृत्व गरेका छन् ।
कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पुर्याउने छ । “हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्ररूपमा बढिरहेको छ,” एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताउनुभयो ।
यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो । कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो । रासस/सिन्ह्वा