• १९ भदौ २०८२, बिहिबार

कोरियाको सहयोगमा बनेको कवर्ड हल हस्तान्तरण

blog

कवर्ड हल हस्तान्तरण कार्यक्रम ।

कठमाडौँ, भदौ १९ गते। पृथ्वी नारायण माध्यमिक विद्यालयमा अत्याधुनिक कवर्डहल निर्माण भएको छ। काठमाडौँको तारकेश्वर ५ मा रहेको उक्त सामुदायिक विद्यालयमा कोरियाको उम होङ गिल ह्युमन फाउन्डेसनले बहुउद्देश्यीय इनडोर खेलकुद कवर्ड हल निर्माणपछि हस्तान्तरण गरेको हो।

आठ सय जनासम्म अटाउने उक्त हलमा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिस खेल्न सकिने गरी कोर्ड निर्माण गरिएको छ। शैक्षिक सुधारमा खेलकुद मात्र नभएर सामुदायिक गतिविधिलाई समेत सहयोग पुग्ने भन्दै तारकेश्वर नगरपालिकाका उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले फाउन्डेशनलाई धन्यवाद दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद फुयाँललाई कोरियाली राजदूत पार्क ताई योङ, फाउन्डेशनका अध्यक्ष ली जे हू, कार्यकारी निर्देशक क्याप्टेन उम होङ गिल लगायतले हल हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा परियोजनाका दाता ह्युमनस्केप कोरियाका संस्थापकको सहभागिता रहेको थियो। फाउन्डेसनले यस विद्यालयका एक हजार तीन सय ५० विद्यार्थीलाई खेलकुद उपकरण, फुटबल पोशाक र झोला वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद फुयाँलले सहयोगका लागि धन्यवाद दिनुभयो।

फाउन्डेशनले काठमाडौँ उपत्यकाभरका सामुदायिक विद्यालयमध्येबाट छनौट गरेर यस विद्यालयमा पूर्वधार निर्माण, शैक्षिक उपकरण सहयोग गरेको कार्यकारी निर्देशक क्याप्टेन उम होङ गिलले जानकारी दिनुभयो।

ह्युमनस्केप कोरियाका सहसंस्थापक श्री चोई ह्युनसुबले खेलकुद कवर्ड हल केवल खेलकुदको लागि मात्र नभएर विद्यार्थीका लागि खेल शिक्षाको रुपमा एउटा पाठ सिक्ने थलो बन्ने विश्वास लिएको बताउनुभयो।

सन् २००८ मा कोरियामा स्थापित फाउन्डेशनले १६ वर्षदेखि नेपालभर १९ वटा विद्यालयमा भौतिक संरचना र शैक्षिक र खेलकुद सामग्री सहयोग गरिसकेको जनाएको छ।