• १० भदौ २०८१, सोमबार

थारू बरघर

blog

प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार ‘बरघर’ लाई ‘गाउँलेहरू मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया, गाउँको अगुवा, बडघर’ भनिएको छ । थारू गाउँको कार्यकारी प्रमुख बरघर हुन्छ । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा बरघरलाई ‘भलमन्सा’ भनिन्छ । बर्दिया, बाँके जिल्लामा यसलाई बरघर भन्छन् । दाङ, सुर्खेतमा यसलाई ‘मटावाँ’ भन्ने चलन छ । गैरथारू समुदायले बरघरलाई ‘बडघर’ भन्ने गरे पनि ‘बड’ को अर्थ थारूमा केही नलाग्ने भएपछि थारू अगुवाले यसलाई बरघरका रूपमा परिभाषित गरेका छन् । ‘बर’ भनेको ‘ठुलो’ अर्थ लाग्छ । ठुलो घर भएको सम्पन्न व्यक्ति बरघरको जिम्मेवारीमा रहने परम्परा भएकै कारण बरघर भनिएको विश्वास गरिन्छ ।    

विकिपिडियाले भन्छ, ‘नेपालको पश्चिम तराईका थारू तथा बसाइँ सरेर आएका पर्वतेले मान्ने र सही निर्णय गर्नमा पोख्त व्यक्तिलाई आफ्नो बरघरका रूपमा चयन गर्ने चलन छ । यस्ता बरघर एकताको प्रतीक पनि मानिन्छन् । यी बरघरले प्रत्येक गाउँमा हुने गरेका कामकाज र न्यायिक छलफलमा निर्णय गर्छन् । थारू समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काम बरघरले गर्छन् । बरघर राख्ने चलन कहिलेदेखि चल्यो भन्ने ऐतिहासिक प्रमाण भेटिएको छैन । बरघर राख्ने चलन खास गरी बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा विद्यमान छ । बरघरलाई गाउँका बासिन्दाले वार्षिक रूपमा सम्झौता अनुसार मानापाथी, धानचामल, नगद उठाएर पारिश्रमिकको व्यवस्था गरिएको हुन्छ । यस्ता व्यक्तिको सहायकका रूपमा चौकीदार चुनिएका हुन्छन् ।’ 

बरघर प्रणाली थारूको मौलिक प्रणाली त हो नै, थारू गाउँलाई एकताको सूत्रमा बाँधिराख्ने हतियार पनि हो । थारू गाउँका सबै घरधुरी बरघरका सदस्य हुन्छन् । गाउँमा बसाइँ सरी आउने जोकोही बरघरका सदस्य हुन पाउँछन् । केही गाउँमा गैरथारू पनि बरघर रहेको उदाहरण छ ।

थारू समुदायलाई एकताबद्ध, सङ्गठित, अनुशासित र विकासका काममा परिचालन गर्ने काम बरघरले गर्छ । बरघर थारू समुदायको मौलिक प्रथा हो । बरघरले थारूको मौलिक सञ्चार प्रणाली अनुसार सूचना प्रवाह गर्ने गर्छन् । बरघर थारू समुदायको पहिचान पनि हो । बरघरलाई थारू समुदायले गाउँको अभिभावक मान्छन् । गाउँको परम्परागत शासक स्विकारेका हुन्छन् । थारू समुदायमा रहेको जीवित सत्ताको अभ्यास बरघरले गर्दै आएका छन् । बरघर प्रणालीमा हिजोसम्म थारू समुदाय मात्र सीमित थियो । अहिले बसाइँ सरी थारू गाउँमा बसोबास गर्न आएका गैरथारू समुदाय पनि बरघर प्रणालीभित्र प्रवेश गरेका छन् । बरघर प्रणाली थारूको मौलिक प्रणाली त हो नै, थारू गाउँलाई एकताको सूत्रमा बाँधिराख्ने हतियार पनि हो । थारू गाउँका सबै घरधुरी बरघरका सदस्य हुन्छन् । गाउँमा बसाइँ सरी आउने जोकोही बरघरका सदस्य हुन पाउँछन् । केही गाउँमा गैरथारू पनि बरघर रहेको उदाहरण छ । अहिले महिला तथा युवा बरघरको नेतृत्वमा आउने क्रम बढेको छ ।  

पदीय परिभाषा

गाउँ सञ्चालन गर्न विभिन्न व्यक्तिले जिम्मेवारी लिएका हुन्छन् । बरघरलाई सहयोग गर्न विभिन्न व्यक्तिलाई परिभाषित जिम्मेवारी दिइएको हुन्छ । बर्दियाको बारबर्दिया नगरपालिकाले बरघर ऐन नेपालमा पहिलो पटक निर्माण गरी पारित गरेर कार्यान्वयनमा ल्याएको छ । बारबर्दिया नगरपालिकाको कार्य भूगोलभित्र रहेको बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकास गर्न बनेको ऐन, २०७७ ले परिभाषित रूपमा जिम्मेवारी तोकेको छ । सो ऐन अनुसार ‘नगर बरघर’ भन्नाले ‘नगरपालिकामा सूचीकृत प्रत्येक गाउँको मूल बरघर वा गाउँ बखेरी (भेला) ले नगर बरघर बखेरीका लागि छनोट गरेको एक गाउँ, एक जना प्रतिनिधि र वडा बरघर समितिका सबै सदस्य रहने गरी नगर बखेरी गठन हुने छ । सो बखेरीले आफूमध्येबाट एक जना बरघर, दुई जना सहायक बरघर र एक जना लिखन्डार चयन गर्ने छ । प्रत्येक वडाका वडा बरघर नगर बरघर समितिको पदेन सदस्य रहने छन् ।’ 

यसै गरी सो ऐनले भनेको छ, ‘प्रत्येक वडाभित्र रहेका गाउँको गाउँ बरघर र सहायक बरघर रहेको वडा बखेरी गठन हुने छ । हरेक गाउँ बखेरीले वडा बखेरीका लागि गाउँ बरघरसहित दुई जना प्रतिनिधि चयन गर्न सक्ने छ । यस बखेरीले आफूमध्येबाट एक जना वडा बरघर, दुई जना सहायक बरघर र एक जना लिखन्डार चयन गर्ने छ ।’ यसरी नै सो ऐनको परिभाषामा ‘गाउँ बरघर’ भन्नाले ‘गाउँ बरघरको सिमानाभित्र पर्ने प्रत्येक घरधुरीबाट कम्तीमा एक जना वा बढीमा महिला पुरुष गरी दुई जनाको प्रतिनिधित्व भएको गाउँ बखेरी गठन हुने छ । यो बखेरी बरघर प्रणालीको सर्वोच्च अङ्ग हुने छ । बरघर वर्षको माघ महिनामा गाउँका सबै घरधुरीबाट प्रतिनिधित्व भएको बखेरी बस्ने छ । यस बखेरीले बरघर प्रणालीका पदाधिकारी जस्तै– बरघर, सहायक बरघर, लिखन्डार, चिरक्या, चौकीदार, गुरुवा, केसौका आदिको खोज्नीबोझ्नी (चयन) गर्ने छ । यस बखेरीले वडा बखेरीका लागि गाउँ बरघरसहित दुई जना प्रतिनिधि चयन गर्ने छ ।’  

सो ऐन अनुसार ‘सहायक बरघर’ भन्नाले ‘बरघर प्रणालीमा गाउँ बरघरलाई सहयोग गर्ने नियुक्त सहायक बरघरलाई सम्झनु पर्छ’ भनिएको छ । त्यस्तै लिखन्डार भन्नाले ‘बरघर प्रणालीमा लेखापढी, हिसाबकिताबको काम गर्ने व्यक्तिलाई सम्झनु पर्छ’ भनिएको छ । त्यस्तै ‘टोल बरघर’ भन्नाले गाउँ बरघरलाई सहयोग गर्ने र आवश्यकता अनुसार आफ्नो टोलमा नेतृत्व गर्ने बरघरलाई सम्झनु पर्छ भनिएको छ । त्यस्तै चौकीदार भन्नाले ‘गाउँको चौकीदारी गर्ने, रेखदेख, सूचना प्रवाह र आपत्विपत्का बेलामा सहयोग गर्ने कार्यका लागि नियुक्त भएको व्यक्तिलाई सम्झनु पर्छ’ भनिएको छ । माथि परिभाषित यी पदहरू सबै बरघरलाई सहयोग गर्न बनेका सहायक पदहरू हुन् । 

सञ्चार प्रणाली

थारू बरघरहरूले गाउँ सञ्चालनका लागि महìवपूर्ण भेला, छलफल, बैठक (जुटेल्हा) मा सहभागिताका लागि गाउँका सदस्यलाई विभिन्न माध्यमबाट सूचनाको सञ्चार (प्रवाह) गर्ने गर्छन् । बैठकको सन्देश प्रवाह गर्न बरघर आफैँले त्यो काम गर्छन् । सूचना प्रवाहका लागि आफूमातहत चौकीदार नियुक्त गरेर त्यसमार्फत खबर प्रवाह गर्ने गरेका पनि छन् । बरघरले मुख्यतः आठ प्रकारका प्रणालीमार्फत गाउँका सदस्यलाई सूचना प्रवाह गरेको अभ्यास देखिन्छ । त्यसमा कुनै अति भरपर्दो सूचना प्रवाह गर्ने शैली छ, कुनै भने खासै कार्यान्वयनमा छैन । बरघरले प्रयोग गर्ने मुख्य सञ्चार अभ्यासहरू यस्ता छन् :

  •  बरघर आफैँ खट्ने

बरघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयम् प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्छन् । सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित वा मौखिक सूचना दिने काम गर्ने गर्छन् । बरघर आफैँ खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म बरघर आफैँ खट्ने गर्छन् । 

  •  चौकीदार खटाउने

बरघरले आफूमातहत आफ्नो सहयोगीका रूपमा गाउँमा एक वा दुई जना चौकीदार नियुक्त गरेका हुन्छन् । गाउँको सामूहिक भेलाबाट बरघरको प्रस्तावमा चौकीदार नियुक्त हुन्छन् । चौकीदारमार्फत हरेक घरधुरीमा सूचना प्रवाह गराउने काम बरघरको जिम्मेवारी हुन्छ । सूचना प्रवाह गर्ने र गराउन तौरतरिका परम्परागत र आधुनिक दुवै अभ्यासमा छन् । उहिले परम्परागत विधि मात्र प्रयोगमा थियो, अहिले सूचना प्रविधिको विकासका कारण नयाँ सूचना प्रणाली विकास भएको छ । 

  •  टेलिफोन गर्ने

बरघर आफैँ वा चौकीदारमार्फत गाउँका सदस्यहरूलाई टेलिफोनमार्फत गाउँमा भेला, छलफलका लागि जुट्ने सूचना जानकारी गराउने गरिन्छ । बरघर आफैँले वा चौकीदारमार्फत टेलिफोन प्रयोग गरी सूचना प्रवाह गर्ने अभ्यास अहिले बढेको छ । टेलिफोनको सहज पहुँचले बरघरलाई सूचना प्रवाह गर्न सहज भएको छ ।  

  •  लिखित पत्र

अहिले गाउँमा युवा बरघर नेतृत्वमा आउने क्रम बढेको छ । पढेलेखेका, शिक्षित बरघरले गाउँका सदस्यहरूलाई गाउँमा बस्ने छलफल वा जुटेल्हाका लागि चौकीदारमार्फत लिखित पत्र पठाउने परम्परा सुरु भएको छ । यसअघि परम्परागत रूपमा मौखिक खबर पठाउने चलन चल्दै आएको थियो । अहिले शिक्षाको महत्व गाउँलेले पनि बुझ्ने भएपछि युवापुस्ता बढी शिक्षित भएको छ । शिक्षाको विकासले थारू बरघरको सूचना प्रणालीलाई पनि सहज बनाइदिएको छ । 

  •  हाँक लगाउने

उहिले गाउँमा मानिसहरू पढेलेखेका थिएनन् । चिठीपत्र लेख्न, पठाउन जानेका थिएनन् । टेलिफोनको विकास भएको थिएन । त्यतिबेला गाउँको अग्लो ठाउँमा गई हाँक लगाएर (चिच्याएर, कराएर) सूचना प्रवाह गर्ने परम्परा थियो । गाउँमा भएको रुखमा चढेर पनि हाँक लगाएर बरघरको सूचना चौकीदारमार्फत गाउँलेलाई पु¥याउने चलन थियो । अहिले यो परम्परा निकै कम अभ्यासमा छ । प्रविधिको विकासले यो प्रथा ओझेलमा पर्दै गएको छ ।

  •  एसएमएस 

सूचना प्रविधिले फड्को मारेसँगै अहिले गाउँ पनि त्यसबाट अछुतो छैन । घर घरमा मोबाइल र इन्टरनेट पुगेको छ । सोही कारण सूचना प्रवाह गर्ने अर्को शैली एसएमएस गर्न सुरु गरिएको छ । गाउँका सदस्यहरूमा बरघर प्रथा पुस्तान्तरण हुँदै गएपछि युवा नेतृत्वमा आउन थालेका  छन् । त्यसैले सूचना प्रवाह गर्ने एसएमएस प्रविधि अभ्यासमा आउन थालेको हो । घरमै बसेर मोबाइल सेटमार्फत छलफलको विषय, एजेन्डा र निर्धारित समय र स्थानबारे एसएमएस गर्न थालिएको केही बरघरको भनाइ छ ।

  •  च्याट ग्रुप

इन्टरनेटको विकास भएसँगै अहिले आधुनिक मोबाइल सेटमा सहज रूपले डाटामार्फत इन्टरनेट सञ्चालन हुन्छ । सामान्य मोबाइल सेटमार्फत पनि एसएमएस पठाउन मिल्छ । बरघरहरूले गाउँको नामबाट ग्रुप च्याट बनाएर त्यसमार्फत सूचना प्रवाह गर्न थालेका छन् तर यो अभ्यास निकै कम गाउँमा भएको देखिन्छ । सूचना प्रवाहका लागि बैठकका सूचना र भएको निर्णय सोही ग्रुप च्याट बक्समा राख्ने प्रचलन सुरु भएको बरघरहरूको भनाइ छ । यसले सूचना प्रवाहलाई चुस्त बनाउन सहयोग गरेको बरघरको बुझाइ छ । 

  •  इमेल

इन्टरनेट चलाउन जान्नेले इमेलमार्फत सूचना पठाउन र प्राप्त गर्न सजिलै सक्छन् । गाउँमा बिजुली बत्ती र इन्टरनेटको सहज पहुँच हुन थालेपछि गाउँका सदस्यहरू इन्टरनेट प्रयोगमा अभ्यस्त हुन थालेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले झन् गाउँका सदस्यहरूलाई सूचना प्रविधिको ज्ञान बढाउन सहज बनाइदिएको छ । गाउँका सदस्यहरू इमेल आइडी बनाएर सूचना प्रवाह गर्न सक्नेसम्म सक्षम हुन थालेका छन् । बरघर जिम्मेवारीमा रहेकाहरूको भनाइ अनुसार केही गाउँमा इमेलमार्फत सूचनाहरू आदानप्रदान गर्न सुरु गरिएको छ तर थोरै गाउँमा त्यो अभ्यास छ । खास गरी सहरबजारनजिकका गाउँ र इन्टरनेटको सहज पहुँच भएका गाउँमा त्यो अभ्यास गरिएको देखिन्छ ।  

यी आठ अभ्यासमध्ये भरपर्दो र प्रयोगमा रहेको सञ्चार प्रणाली भनेकै सबै घरधुरीमा बरघर स्वयम् पुगेर सूचना प्रदान गर्नु हो अथवा चौकीदारलाई खटाएर लिखित वा मौखिक सन्देश प्रवाह गराउने अभ्यास हो । धनगढी उपमहानगरपालिकाको नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीका अनुसार बरघरको सूचना प्रवाह गर्ने विविध प्रणाली विकास भए पनि प्रविधिमैत्री भने अझै हुन सकेको छैन । केही गाउँमा घरको भित्तामा, गाउँको चोकमा भएको रुखमा सूचना टाँस्ने परम्परा पनि रहेको देखिन्छ ।  

हाँक लगाउने प्रणाली निकै पुरानो थारू मौलिक सञ्चार प्रणाली हो । अहिले यो खासै प्रयोगमा छैन । प्रविधिको विकास नभएको बेला नयाँ तौरतरिकाको विकास नहुन्जेल यो विधिको प्रयोग लामो समयसम्म अभ्यासमा रहेको उहाँको बुझाइ छ । उहाँका अनुसार सूचना प्रविधिको विकाससँगै अभ्यासमा आएको इमेल प्रविधिलाई अझ पूर्णतः अभ्यासमा ल्याउन नसकिए पनि प्रयोग गर्न थालिएको छ ।  

धनगढी उपमहानगरपालिका–५ का बरघर (भलमन्सा) कुलवीर चौधरीका अनुसार युवा र महिलामा नेतृत्व क्षमता विकास भएको छ तर पुस्तान्तरण हुन अझ समय लाग्ने छ । भलमन्साको सूचना प्रवाह गर्ने प्रणाली सबैभन्दा बढी मौखिक प्रणाली भरपर्दो रहेको उहाँको भनाइ छ । घरधुरीमै गएर मौखिक खबर गरेपछि बैठक, कचहरीमा सबै घरधुरीबाट सदस्य अनिवार्य उपस्थित हुन्छन् । उपस्थित नहुनेलाई जरिबाना तोक्ने अधिकार बरघरलाई हुन्छ । बैठकमा अनुपस्थित रहनेलाई कारबाही वा सजायबापत तोकिने दण्ड पनि बरघर स्वयंले निर्धारण गरी गाउँको भेलाबाट पारित गराएका हुन्छन् ।  


धनगढी उपमहानगरपालिका–८ का भलमन्सा सरोज चौधरी अहिले २९ औँ पटक भलमन्साको जिम्मेवारीमा हुनुहुन्छ । हजुरबुवा, बुवापछि आफू बरघरमा आउँदा उहाँको पूरै तीन पुस्ताले बरघर जिम्मेवारी निर्वाह गरेको छ । उहाँका अनुसार परम्परागत सूचना प्रवाह गर्ने सञ्चार प्रणाली जोगाउने र नयाँ प्रविधिमैत्री सञ्चार प्रणाली अँगाल्ने मुख्य चुनौती छ । गाउँको अग्लो ठाउँमा गएर हाँक लगाउने सूचना प्रणालीलाई जोगाउँदै च्याट ग्रुप, एसएमएस र इमेलमार्फत सूचना प्रवाह गर्ने प्रणालीको अभ्यास गर्न युवा नेतृत्वमा आउनुपर्ने सुझाव उहाँको छ । इच्छुक भए पनि बुढापाकामा प्रविधियुक्त ज्ञानको अभाव छ । फोन पहुँच प्रायः सबै सदस्यमा भए पनि सहज प्रयोगको समस्या अझै बुढापाकामा छ । सञ्चार प्रणालीलाई युग सुहाउँदो बनाउने प्रयासमा आफूहरू लागिपरे पनि अझै रूपान्तरण हुन नसकेको उहाँको बुझाइ छ यद्यपि आधुनिक सूचना प्रविधिको प्रयोग भने गाउँमा सुरु भएको उहाँको भनाइ छ ।  नगर भलमन्सा समितिका सचिव तथा धनगढी–६, मटियारी गाउँका बरघर बिन्तीराम चौधरीका अनुसार नगरभित्र करिब सय बरघर आबद्ध छन् । केही बरघरलाई समेट्न बाँकी छ । समितिको विधान तयार गरी धनगढी उपमहानगरपालिकामा दर्ताका लागि पेस गरिएको उहाँको भनाइ छ । परम्परागत सूचना प्रवाह गर्ने प्रणाली गाउँमा अझै जीवित रहे पनि विश्वसनीय बनाउन सकिएको छैन । पहिले गाउँमा थारूहरूको घर एक ठाउँमा गुजमुज्ज रहेका बेला हाँक लगाउन सहज थियो । अहिले गाउँ फैलिएको छ । घरधुरी सङ्ख्या एक गाउँमा दुई/तीन सयसम्म पुगेकाले हाँक लगाउने परम्परा हराउँदो छ । 

अहिले सबैभन्दा भरपर्दो र अभ्यासमा रहेको सूचना प्रवाह प्रणाली भनेकै सबैको घरमा गएर सूचना प्रवाह गर्ने हो । लिखित र अलिखित दुवै प्रकारका सूचना प्रवाह अभ्यासमा रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “सामान्य बैठक र छलफलका लागि मौखिक खबर गरे पुग्छ । महत्वपूर्ण भोज, विवाह, मर्निकर्नी, पूजा, उत्सव, महोत्सवका लागि लिखित पत्रमार्फत सूचना प्रवाह गर्दै आएका छौँ ।”

धनगढी उपमहानगरपालिका–५ का बरघर बुद्धि चौधरीमा बरघरको जिम्मेवारी आएको सात वर्ष भयो । उहाँको गाउँमा १०५ घरधुरी छ । गाउँमा सूचना प्रवाह गर्ने प्रणाली पुरानो र नयाँ दुवै अभ्यासमा रहेको उहाँको भनाइ छ । अहिले गाउँमा युवा र महिला बढी सक्रिय रहेकाले पुस्तान्तरण गर्न सहज भएको उहाँको बुझाइ छ । थारू देउथान पूजा, गाउँमा हुने जन्मोत्सव, मर्निकर्नी, खोज्नीबोझ्नी र विवाहभोजका बेला गाउँलेहरू एक ठाउँमा आउने गरेको उहाँको भनाइ छ । सूचना प्रवाह गर्दा टेलिफोन, एसएमएस, घरमै गएर खबर गर्नेदेखि पुरानो मौलिक परम्परा हाँक लगाउने अभ्यास पनि कहिलेकाहीँ गर्ने गरेको उहाँको अनुभव छ । 

चुनौती र अवसर

बरघर भेला तथा छलफलका लागि गाउँमा सूचना प्रवाह गर्ने अनेक अभ्यास छन् । त्यसबारे माथि चर्चा गरिसकिएको छ । यद्यपि परम्परागत सूचना प्रवाह प्रणालीलाई जोगाई त्यसलाई प्रभावकारी बनाउने मुख्य चुनौती देखिन्छ । हाँक लगाउने सूचना प्रणाली सूचना प्रवाहका हिसाबले मौलिक र जीवन्त मानिन्छ तर गाउँको आकार ठुलो हुने र सदस्य सङ्ख्यामा अत्यधिक बढोत्तरी भएपछि कि त्यसलाई साउन्डजडित माइकिङ प्रणालीमा विकास गर्नु पर्छ कि हाँकमार्फत सूचना प्रवाह गर्ने प्रणाली त्याग्नु पर्छ । व्यक्ति चिच्याएर हाँक लगाउनाले गाउँका सबै सदस्यसम्म अब सूचना प्रवाह सम्भव देखिँदैन । यद्यपि सानो गाउँका लागि यो अभ्यास बढी प्रभावकारी छ । त्यही कारण यो प्रणालीलाई बरघरहरूले कम अँगाल्न थालेका देखिन्छ । 

अर्को चुनौती हो, गाउँका पाका पुस्तालाई सूचना प्रविधिको ज्ञान सिकाउनु । हातमा मोबाइल छ । कल गर्ने र रिसिभ गर्नसम्म अभ्यास छ तर एसएमएस गर्ने त्यति भेउ छैन । च्याट गर्न र इमेल चलाउन त झन् टाढाको काम भयो । ती पाका पुस्तालाई प्रविधिमैत्री बनाउन आजको पुस्तासामु चुनौती धेरै छ । कि पाका पुस्तालाई ज्ञान र सिप सिकाउनु पर्छ कि बरघरको जिम्मेवारीमा आफैँ आउने आँट गर्नु पर्छ । पाका पुस्ताको परम्परागत ज्ञान, सिप र अनुभव युवापुस्तामा पुस्तान्तरणको खाँचो बढी छ । उनीहरूलाई प्रविधिको ज्ञान पनि सिकाउनुपर्ने युवासामु बाध्यता छ । यही चुनौतीका कारण बरघरको सूचना प्रवाह प्रणाली प्रविधिमैत्री हुन नसकेको अनुभव धनगढी–१६, रामपुरका पूर्वबरघर नारायण चौधरीको छ । युवापुस्ता अझ बरघर जिम्मेवारीमा अभ्यस्त भइनसकेकाले सूचना प्रवाह प्रणाली परम्परागत रूपमा चलिरहेको उहाँको भनाइ छ । 

सूचना प्रविधिले कति फड्को मारिसकेको छ भने गाउँमा अहिले सबैका हातमा आधुनिक मोबाइल छन् । त्यसलाई अवसरमा बदल्न सक्ने हो भने बरघरको सूचना प्रवाह गर्ने प्रणाली पनि प्रविधिमैत्री हुने नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीको बुझाइ छ । समय परिवर्तन भएसँगै सूचना प्रविधिको ज्ञान पाका पुस्तालाई सिकाउन सक्ने हो भने बरघरको सूचना प्रवाह गर्ने प्रणाली पनि सहज हुने उहाँको विश्वास छ । बिस्तारै युवापुस्ता बरघर प्रणालीमा अग्रसर भइरहेकाले प्रविधिमैत्री सञ्चार प्रवाह गर्ने प्रणाली छिटो कार्यान्वयनमा आउने उहाँको विश्वास छ ।    

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।