• ८ जेठ २०८१, मङ्गलबार

रोजगारीका लागि आउने विदेशी बढे

blog

काठमाडौँ, वैशाख २५ गते । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१५ जनाले श्रम नवीकरण गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९७७ जनाले नवीकरण गरेका थिए । 

अघिल्ला दुुई आर्थिक वर्षमा भने रोजगारीका लागि नेपाल आउने विदेशी बढेका थिए । आ.व. २०७६/७७ मा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या दुुई हजार ५० रहेकोमा आ.व. २०७७/७८ मा दुुई हजार ३९० रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरोना महामारी सामान्य भएसँगै नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा नयाँ श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या थोरैले बढेको जानकारी दिनुुभयो । यो वर्ष श्रम स्वीकृति नवीकरण गराउने विदेशी श्रमिकको सङ्ख्या गत वर्षभन्दा घटेको उहाँले बताउनुभयो । 

महानिर्देशक आचार्यले कोभिड–१९ चीनबाट सुरु भएको र नेपाल सञ्चालनमा रहेका परियोजनामा चिनियाँ नागरिक धेरै कार्यरत रहेका कारण पनि नेपालमा काम गर्न अनुमति लिने विदेशीको सङ्ख्या बढेको बताउनुुभयो । पाँचदेखि सात वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकले श्रम स्वीकृति नवीकरण गराउने गरेको उहाँले जानकारी दिनुभयो । श्रम स्वीकृति लिएर नेपालमा काम गर्नेमध्ये ९० प्रतिशत उच्च सीपयुक्त प्राविधिक रहेको विभागका महानिर्देशक आचार्यले जानकारी दिनुुभयो ।

विश्व स्वास्थ्य सङ्गठन, सेभ द चिल्ड्रेनलगायतका विकास साझेदारले पनि थोरै सङ्ख्यामा विज्ञका लागि श्रम स्वीकृति लिने गरेका छन् । श्रम विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ छन् । विभागका अनुसार आ.व. २०६९/७० देखि हालसम्म २० हजार ४५० श्रम स्वीकृति तथा श्रम नवीकरण गरेका छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानमा कार्यरत कुल जनशक्तिको पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । 

नेपालमा कार्यालय सञ्चालन गरेका विदेशी विमान सेवा कम्पनी, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिकविदेशी रहेका छन् । सो विभागका निर्देशक मणिनाथ गोपले कोभिड सङ्कटका बेला नयाँ श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या केही कमी आए पनि नवीकरण गर्नेको सङ्ख्या बढेको बताउनुुभयो ।