चित्र मिजार
सिन्धुपाल्चोक, भदौ ७ गते । अविरल वर्षातले त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा टेन्ट हालेर स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र सुवास थामीको परिवारलाई पाटेडाँडाको सुरक्षित जग्गामा टेन्ट हालेर सारिएको वडा अध्यक्ष टेकबहादुर गुभाजु (विजय)ले जानकारी दिनुभयो ।
गापा, वडा, सुरक्षाकर्मी, स्थानीय जनताका सहभागितामा विस्थापित परिवारलाई उद्धार गरी टेन्ट निर्माण गरेर सारिएको हो ।
विस्थापित परिवारको त्यहाँ बाहेक अन्यत्र कत्तै जग्गाजमीन नभएकाले पाटेडाँडामा अरुको जग्गाको बाली काटेर टेन्ट हालेर सारिएको गुभाजु बताउनुहुन्छ । विस्थापित परिवारलाई हिउँदमा सुरक्षित स्थानमा जग्गा खरीद गरी गापा, वडाले स्थायी आवास निर्माण गरिदिने गुभाजुले बताउनुभयो । विस्थापित परिवारलाई चार वटा टेन्ट हालेर राखिएको छ ।
बाढीपहिरोबाट पिस्कर उच्च जोखिममा रहेको वडा हो । गत वर्ष पनि ठाडोखोलाको पहिरोले एक युवकको ज्यान गएको थियो ।