• ११ मंसिर २०८१, मङ्गलबार

उनन्तिस प्रतिशतमा मात्र सिँचाइ

blog

राधा नेपाली 

सन्धिखर्क, भदौ ७ गते । अर्घाखाँचीको कुल खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका अनुसार कुल ४५ हजार ७१२ खेतीयोग्य जमिनमध्ये २८ हजार ६०९ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । खेती भएको जमिनमध्ये आठ हजार ४४४ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुगेको छ । 

जसमध्ये तीन हजार ८१ हेक्टर क्षेत्रफलमा १२ महिना सिँचाइ सुविधा छ भने पाँच हजार ३६३ हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको । बबईढुङ्गा सिँचाइ बहुद्देश्यीय आयोजनाले शीतगङ्गा नगरपालिका–२ र ४, धादिङ काफेली सिँचाइ आयोजनाले शीतगङ्गा–५ मा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख भेषराज भुसालले जानकारी दिनुभयो । सन्धिखर्क नगरपालिका–२ मा पनि सिँचाइ सविधा पुगेको छ । जिल्लाका छ वटा पालिकाका विभिन्न स्थानमा सिँचाइ सुविधा पुगेको भुसालले बताउनुभयो ।    

त्यस्तै कार्यालय अर्घाखाँची ९९.८६ प्रतिशत भौतिक र ८८.४७ प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्रमा १९ करोड ९१ लाख बराबरको विभिन्न योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख भुसालले बताउनुभयो । 

कार्यालयद्वारा सञ्चालित तथा सम्पादित योजना आयोजनाको वार्षिक समीक्षामा भुसालले भन्नुभयो, “भौगोलिक विकटता र दरबन्दी अनुसार जनशक्ति कमी हुदाँहँुदै पनि राम्रो उपलब्धि हासिल गर्न सफल भएका छौँ ।”

कार्यालयका १०३ योजनामध्ये एक वर्षमा ९४ योजना सम्पन्न भएका छन् । चार वटा योजना क्रमागत बहुवर्षीय र पाँच वटा योजना कार्यान्वयनमा गएको छैन । सञ्चित कोषमा रकमको कमी हुँदा कार्यान्वयनमा जान नसकेका हुन् । 

आव २०८०/८१ मा यस कार्यालयबाट विभिन्न सिँचाइ योजनाका आठ वटा बाँध निर्माण, १९.६२ किमी पक्की कुलो, तीन वटा पोखरी, १५ हेक्टरमा थप सिँचाइ सुविधा र १७१ हेक्टरमा सिँचाइ सुदृढीकरण भएको छ । २.३८ किमी तटबन्ध, १.५ हेक्टर जमिन उकास, ४८ वटा घर र १६५ हेक्टर जमिन सुरक्षित भएको भुसालले बताउनुभयो । 

कृषि उत्पादनको वृद्धिबिना आर्थिक समृद्धि नहुने भएकाले सिँचाइ पहिलो आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । आयोजनालाई थप प्रभाकारी बनाएर सिँचाइ नपुगेको जमिनमा सिँचाइ पु¥याएर जिल्लालाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।