• ५ जेठ २०८१, शनिबार

मतदाता शिक्षाको अभाव हुुँदा अन्योल

blog

छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा आयोजित नमुना मतदानमा भाग लिँदै स्थानीय बासिन्दा । तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता

सल्यान, वैशाख २५ गते । स्थानीय तहको निर्वाचनको रौनक सुरु भए पनि मतदातामा भने कसरी मतदान गर्ने भन्ने अन्योल देखिएको छ । दार्मा गाउँपालिका–२ का रमेश रोकायले यसपालि मतदान गर्न पाउने हुनुभएको छ तर उहाँलाई कसरी मतदान गर्ने जानकारी छैन । 

पहिलो पटक मतदानमा भाग लिने मात्र होइन, यसअघि मतदान गरिसकेका शारदा नगरपालिका–१, शान्तिनगरका २८ वर्षीय दीर्घ बादीले पनि आफूलाई मतदाता शिक्षाको आवश्यकता भएको बताउनुभयो । उहाँका अनुसार मत माग्न दलहरू घरघरमा आए पनि सही किसिमले मतदान गर्न सिकाएका छैनन् । 

यहाँ दलहरूले घरदैलो अभियान सञ्चालन गरे पनि मतदान गर्ने तरिका सिकाउनेभन्दा मत माग्न हिँड्ने गरेका छन् । कालीमाटी गाउँपालिका–३ का झुपलाल खत्रीले चुनावी चहलपहल बढेको भए पनि मत बदर गर्न मतदाता शिक्षामा जोड नदिएको बताउनुभयो । 

उहाँका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवार बनेका व्यक्ति घरदैलोमा आए पनि मतदाता शिक्षा दिन सकेका छैनन् । जिल्लामा ४३५ पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित एक हजार ४८१ उम्मेदवार रहेका छन् । १० वटा स्थानीय तहमा एक लाख ५७ हजार मतदाता रहेका छन् ।   

नमुना मतदानमा बदर मत धेरै

बागेश्वरी असल शासन क्लबले आयोजना गरेको नमुना मतदानमा बदर मतको सङ्ख्या धेरै पाइएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा गरिएको नमुना मतदानमा २८ जनाले मतदान गरेका थिए । २८ मतमध्ये १८ सदर र १० मत बदर भएको हो । वागेश्वरी असल शासन कल्ब नेपालकी केन्द्रीय सदस्य मेघा रेउलेले मतदानमा भाग लिँदा मतदातामा आत्मविश्वासको कमी र मतदाता शिक्षाको कमी रहेको पाइएको बताउनुभयो । उहाँका अनुसार गाउँघरमा दलहरूको चुनावी अभियान भएको छ तर मतदाता शिक्षा अझै पुग्न सकेको छैन ।