• ११ मंसिर २०८१, मङ्गलबार

विवादले घर भत्काउन ढिलाइ

blog

अमरराज नहर्की 

तनहुँ, भदौ ६ गते । तनहुँको सदरमुकाम दमौलीमा सडक केन्द्रविन्दुबारे विवाद हुँदा घर भत्काउन ढिलाइ भएपछि विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डको काम प्रभावित भएको छ । राजमार्गको काम अन्यन्त्र धमाधम भइरहेको छ । दमौलीमा भने अधिकांशले सडक सीमाभित्रको घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन । 

काममा ढिलो भएपछि व्यास नगरपालिकाले काम छिटो सम्पन्न गर्न चासो राखेको छ । छिटो काम होस् भन्नका लागि सदरमुकाम दमौलीमा पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ को बजार क्षेत्रमा छ दिनभित्र सडकको केन्द्रविन्दु पहिचान गरिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पृथ्वी राजमार्ग विस्तार अभियानलाई सहयोग पु¥याउन सम्बन्धित सबै पक्ष प्रतिबद्ध रही सम्पूर्ण सरोकारवालासँग सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

नगरपालिकाका अनुसार विवादपछि दमौली बजारमा विद्युत् पोल गाड्ने, नाला निर्माण गर्न सडकको केन्द्रविन्दु पुनः पहिचान गर्ने निर्णय गरिएको हो । सम्बन्धित वडाध्यक्ष, नगरपालिकाका प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको रोहबरमा छ दिनभित्र सकिने हुँदा सोही नाप अनुसार भत्काउनुपर्ने घरटहरा यथाशीघ्र भत्काउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको राजमार्ग विस्तार योजना अन्तर्गत राजमार्ग निर्माणमा देखिएका समस्याबारे छलफल भएको छ । आइतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, राष्ट्रियस्तरका प्रमुख राजनीतिक दलका प्रतिनिधि, सडक आयोजना पूर्वी खण्डका प्रतिनिधिसमेतका सरोकारवालाको बैठकले सडक केन्द्रविन्दु पहिचानपश्चात् हटाउनुपर्ने घर हटाउने निर्णय गरेको हो । 

दमौलीमा केही घरधनीले राजमार्ग क्षेत्रमा पर्ने घरटहरा नहटाउँदा राजमार्ग विस्तारमा अवरोध भइरहेको सन्दर्भमा व्यास नगरपालिकाको समन्वयमा सो छलफल आयोजना भएको थियो । भत्काउनुपर्ने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने तथा घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय बैठकमा भएको थियो । सडक निर्माण गर्दा सम्बन्धित वडाध्यक्षसमेतको रोहबरमा आयोजनाले निर्माणकर्तासँग समन्वय गरी आवश्यक प्रबन्ध गर्ने गराउने पनि बैठकमा निर्णय भएको थियो । राजमार्ग निर्माण सम्पन्न नहुँदा बजार क्षेत्रमा धुलोलगायतका समस्याले यात्रु, विद्यालय जाने बालबालिका र व्यवसायमा समेत असर परेको छ ।