• ७ भदौ २०८१, शुक्रबार

भैँसीगोठमा मरेकाे बाघ फेला पर्‍याे

blog

मनहरिमा मृत अवस्थामा भेटिएको बाघ । तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय मकवानपुर

अनिल पराजुली

हेटौँडा, भदौ ६ गते । पश्चिम मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । ३ बजेको समयमा मनहरी गाउँपालिका वडा नं.६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एउटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीको भनाइ छ । प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । 

घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले बिहान ६ बजेर १५ मिनेटको समयमा मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनास्थल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत छ ।