• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

blog

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगभेट गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छेन सोङ। तस्बिरः संघीय संसद सचिवालय

काठमाडौँ, भदौ ५  गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। 

भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ। सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबिचको सम्बन्ध बर्सौँ पुरानो भएको चर्चा गर्दै दुई देशबिचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताउनुभयो। 

दुई देशबिचका राष्ट्रपतिज्यूका तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरूको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउने बताउनुभयो। 

चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो। बिआरआइलगायत दुई देशबिच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताउनुभयो।

नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरूको ठुलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सञ्चालन गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो।

जलवायु परिवर्तनबाट हिमाली देशहरू निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरूबिच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताउनुभयो। नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन विश्व समुदायको महत्त्वपूर्ण सहयोग रहेको र त्यसमा चीनको विशिष्ट भूमिका रहेको भन्दै अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो।

सो अवसरमा राजदूत सोङले राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमैत्री सम्बन्ध कायम रहेको भन्दै राजदूत सोङले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणपछि दुई देशबिचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाइमा उठेको बताउनुभयो।

शान्ति प्रक्रियाको बाँकी कामको रूपमा रहेको टिआरसी विधेयक संसद्बाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हान्ने बताउनुभयो।

नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने बताउनुभयो।