• १७ पुस २०८१, बुधबार

अड्किएको फाइलको छिनोफानाे २४ घण्टामा गर्न मन्त्री पाण्डेको निर्देशन

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

काठमाडौँ, भदौ ५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ। 

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिनुभएको हो।

मन्त्री पाण्डेले भन्नुभयो, “मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफानो गर्नुहोला।”

असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो। उहाँले भन्नुभयो, ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमको बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला।’ 

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरेर सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिनुभयो।  त्यस्तै उहाँले नीतिगत सुधारका  लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले कर्मचारीले इमान्दारी पूर्वक व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रूपमा नतिजा दिने गरी काम गर्न आग्रह गर्नुभयो। 

कानुन निर्माणमा भइरहेको ढिलाइप्रति इङ्गित गर्दै उहाँले तीन दिन भित्र अन्तर मन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वस्त पारेको बताउनुभयो। 

साथै मन्त्री पाण्डेले गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचीकरण, कानुन निर्माणको प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ कहाँ त्रुटि छ ? त्यसबारेमा संवेदनशील भएर अघि बढ्न समेत आग्रह गर्नुभयो।