काठमाडौँ, भदौ ५ गते। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिट्टै धरहरा खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारको धरहरासम्बन्धी जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी बन्दोवस्ती मिलाउन लागिएको बताउनुभयो।
उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त छिट्टै प्रष्ट पार्नुभयो। ‘धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो।
काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको उहाँले बताउनुभयो। सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाइ छ।