• ९ भदौ २०८१, आइतबार

स्तर खस्कँदो गाईजात्रा प्रहसन

blog

काठमाडौँ, भदौ ५ गते । हास्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । एउटा समय गाईजात्रा आउनु एक महिनाअघिदेखि नै यसको रिहर्सलमा जुट्ने गर्थे तर त्यो अहिले बोलीमा मात्र सीमित भएको छ । 

कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा सहभागी छैनन् । गिरीसहित केदार घिमिरे, जितु नेपाल, किरण केसी यस पटक पनि कुनै समूहसँग जोडिएका छैनन् । यस पटक कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को टिम र मनोज गजुरेलको टिमले राष्ट्रिय नाचघर र प्रज्ञा–प्रतिष्ठानमा गाईजात्रा प्रहसन देखाइरहेका छन् । गाईजात्रामा स्टेज सोहरू नभए पनि अधिकांश कलाकारका हँसाउने मसला राजनीतिक र सामाजिक विषय हुने गर्छ । युट्युब च्यानलबाटै भए पनि धेरै जसो कलाकारले देश चलाउने नेता, सांसदका गतिविधिलाई व्यङ्ग्यको तारो हान्दै दर्शकलाई पेट मिचिमिची हँसाउने काममा देखिन्छन् ।  

हास्य कलाकार मनोज गजुरेलले हास्यव्यङ्ग्यले गलत काम गर्नेलाई सचेत गराउने हुनाले प्रहसन पनि त्यसै अनुसार हुने बताउनुभयो । उहाँका अनुसार हिजोआज गाईजात्राका अवसरमा समाजका विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुने गरेका छन् ।

अहिलेका हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा वर्षभरि देशमा भएका प्रमुख घटनाक्रमदेखि विविध मुद्दा भेटिन्छन् । नेपाली समाज, जनताले भोगेको समस्यालाई व्यङ्ग्यात्मक रूपमा प्रहसनमा देखाइन्छ । राजनीतिमा भएका खिचातानी र हिलो छ्याप्ने प्रवृत्ति धेरै नै पोखिन थालेका छन् । सशक्त विषयमाथि धारिलो व्यङ्ग्य प्रस्तुत गर्न खोजिए पनि कलाकारले दिने प्रस्तुतिमा सधैँ एउटै विषय दोहोरिन थालेको जस्तो लाग्न थालेको छ । उही नेताका क्यारिकेचरदेखि वैदेशिक रोजगारी, सहकारी ठगीका मुद्दा र सुन काण्डका विषय । गाईजात्रा महोत्सवमा देखाइने विभिन्न प्रहसनमा देशमा घटेका विसङ्गति, भुइँमान्छेका पीडादेखि राजनीतिक गतिविधिमाथि व्यङ्ग्यात्मक रूपमा झटारो हान्ने गरिन्छ । कलाकार जितु नेपालले चलचित्रमा धेरै व्यस्त हुनु परेकाले यस पटकको गाईजात्रामा खासै ध्यान दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “समय मिलेमा आफ्नै युट्युब च्यानलमार्फत नै गाईजात्रे केही कमेडी गरौँ कि भन्ने सोचेको छु ।” उहाँका अनुसार अहिले पहिलाको जस्तो गाईजात्राको खासै ‘चार्म’ पनि छैन । अवस्था पनि छैन र धेरै जसो कलाकार एकअर्कामा छरिएका हुनाले पनि स्टेज सो गर्न सजिलो छैन । 

कुनै समय दुईदेखि तीन समूह मिलेर गर्ने ‘गाईजात्रा’ अहिले अलग अलग समूहमा परिणत भएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल, दीपकराज गिरीलगायतका कलाकार आआफ्नो समूहसँग मिलेर गाईजात्रा कार्यक्रम गर्ने गर्थे तर अहिले त्यो अवस्था सुस्ताएको छ । चलचित्रले गर्दा गाईजात्रालाई खासै समय दिन नपाएको कलाकार दीपकराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईजात्रा मेरो क्यारियरको महत्वपूर्ण पर्व हो, किनकि यसमा मैले धेरै प्रहसन मञ्चन गेरेर अनुभव बटुल्ने मौका पाएको छु ।” उहाँले भन्नुभयो, “अहिले र पहिलेको हास्य कलाकारमा धेरै फरक आइसक्यो । अहिले कलाकार टेलिचलचित्रदेखि ठुला पर्दाका चलचित्रसम्ममा व्यस्त रहन्छन् । उनीहरूले चाहेर पनि गाईजात्रामा त्यति धेरै समय रिहर्सलमा दिन सक्ने अवस्था हुँदैन । फेरि पहिला कलाकार सजिलै उपलब्ध हुन्थे भने अहिले खोज्दै हिँड्नु पर्छ ।”  

‘गाईजात्रा’ प्रहसन

‘गाईजात्रा महोत्सव–२०८१’ सोमबारदेखि राष्ट्रिय नाचघरमा सुरु भएको छ । महोत्सवमा नेतृत्व कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गरेका छन् । उनको टिममा कुञ्जना घिमिरे, सुरेन्द्र केसी, शिवशङ्कर रिजाल, पल्पसा डङ्गोल, राजाराजेन्द्र पोखरेल, दिनेश काफ्ले, सन्तोष खनाल, सुयसा खनाल, हिमेश पन्तलगायत छन् । महोत्सव–२०८१ भदौ १० गतेसम्म चल्ने छ । यस पटक राष्ट्रिय नाचघर आफैँले यो कार्यक्रम गर्न लागेको हो । कलाकार कट्टेल ‘धुर्मुस’ समूहको कार्यक्रम नाचघरकै आयोजना हो । संस्थाको मूलमर्म अनुसार सबै कुरो समेटिनु पर्छ भनेर संस्थाले यो पटकबाट ‘गाईजात्रा’ कार्यक्रम गर्न लागेको नाचघरका महाप्रबन्धक किरणबाबु पुनले बताउनुभयो । उहाँका अनुसार संस्कृति सामान्य रूपमा नाचगान भन्ने मात्र बुझिन्छ तर यसमा सबै जातजातिको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप, चाडपर्व, वेशभूषा पर्छ । सबैलाई सामूहिक रूपमा प्रस्तुत गर्नु पर्छ भन्ने योजना अनुसार कार्यक्रम हुन लागेको उहाँको भनाइ छ ।

‘एकासीको गाईजात्रा’ नामक हास्यव्यङ्ग्य कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ । हास्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, चक्र दवाडी, यमन श्रेष्ठ, सुबोध गौतम, मेक्सम गौडेल, सजन श्रेष्ठ, सीता न्यौपाने, प्रभात लामा, प्रकृति गिरी र माड्सापको प्रस्तुति रहने छ । ‘एकासीको गाईजात्रा’ सात दिनसम्म चल्ने छ । ‘एकासीको गाईजात्रा’ मा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको ‘मिमिक्री’ को प्रहसनदेखि लिएर, ‘म बेरोजगारीले सताएको बादल हुँ । मिटरब्याजीले बजाएको मादल हुँ । सहकारी काण्डले तर्साएको पोको हुँ । नक्कली शरणार्थी काण्ड पर्सिएको बोको हुँ,’ जस्ता हास्य प्रहसनलाई प्रस्तुत गरिएको जनाइएको छ ।