• १६ भदौ २०८१, आइतबार

सहुलियत ऋण उपलब्ध गराउन माग

blog

काठमाडौँ, भदौ ४ गते । जनता समाजवादी पार्टी नेपालले कृषि र कृषिमा आधारित उद्योगहरू स्थापना र सञ्चालन गर्न सरकारले बैङ्कमार्फत ऋण उपलब्ध गराउन माग गरेको छ । 

जसपा नेपालको चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो माग गरेको हो । कृषि उद्योग स्थापनाका साथै प्रविधि एवं अन्य आवश्यक सहुलियत प्रदान गर्न जसपाले माग गरेको छ । 

कानुन तथा नीति निर्माण गरी कृषि मजदुरको संरक्षण र न्यायोचित ज्यालाको व्यवस्थाको माग गर्दै जसपा नेपालले सङ्घीय सरकारले नेपालमै रासायनिक तथा प्राङ्गारिक मल उत्पादनका लागि कारखाना स्थापना गर्नुपर्ने कुरामा जोड दिएको छ ।  

जसपा नेपालले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, “कृषि उत्पादनका लागि आवश्यक पर्ने कीटनासक औषधीका साथै मल खाद्यको पर्याप्त भण्डारण गरी आवश्यकता अनुसार कृषकलाई समयमै उपलब्ध गराउने तथा पानी र माटो जाँच, कृषि प्राविधिक आदि सेवाहरू स्थानीय तहमै उपलब्ध गराउने गरी व्यवस्था गर्ने र सरकारले कृषि सडक निर्माणका साथै पशु तथा बाली बिमाको व्यवस्था पनि गरिनु पर्दछ ।”

कृषि उत्पादन वृद्धि गर्न सरकारले सिँचाइका लागि कृषि विद्युतीकरण, नहर निर्माण, नदी नियन्त्रण र नदीका किनारमा वृक्षरोपण गर्ने, ससाना सिँचाइ आयोजना, भूमिगत सिँचाइ आयोजना, नदीमा तटबन्ध निर्माणलगायतका आवश्यक कार्यहरू गर्न माग गर्दै जसपा नेपालले किसानलाई विचौलियाको शोषणबाट बचाउन पनि माग गरिएको छ । 

कृषि उत्पादनलाई व्यवस्थित गर्न प्रत्येक पालिकामा शीतभण्डारको निर्माण गरी सञ्चालन गरिनुपर्ने उल्लेख गर्दै जसपा नेपालले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गरेको छ । 

गरिबी र बेरोजगारी समस्याको समाधान गर्न कृषि क्षेत्रको ठुलो योगदान रहेको उल्लेख गर्दै जसपा नेपालले वैज्ञानिक भूमि व्यवस्थापन तथा कृषि नीति र कानुन निर्माण गरी कार्यान्वयन ल्याउनुपर्ने कुरामा जोड दिएको छ । ग्रामीण विकास बैङ्क, साना किसान विकास, लघुवित्त संस्था, कृषि सहकारी संस्था आदि स्थापना गरी त्यसको माध्यमबाट साना किसानलाई सस्तो ब्याजदरमा कृषि ऋण प्रदान गर्ने व्यवस्था मिलाउन पनि जसपा नेपालले आग्रह गरेको छ ।