गजेन्द्र गुरुङ
खजुरा, वैशाख ११ गते । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ ।
कोहलपुर नगरपालिका ११ स्थित गन्धर्व टोलका १० जना बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बुधबारदेखि डेढ महिने सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले तालिमको उद्घाटन गर्नुहुँदै पिछडिएका वर्ग र समुदायका महिलाहरूलाई स्वरोजगार बनाउने तथा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेकोमा कोहलपुर नगरपालिकालाई धन्यवाद प्रदान गर्नुभयो । उहाँले सहभागी बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई डेढ महिनासम्म राम्रोसँग तालिम सिकेर त्यसलाई व्यवहारमा उतार्न आग्रहसमेत गर्नुभयो ।
“तालिममा सीप सिकेर मात्र हुँदैन्, डेढ महिना भनेको लामो समय हो सिक्नका लागि, तालिम राम्रोसँग सिक्नुहोस्, हातमा सीप भएपछि घरपरिवाका पुरुष सदस्यहरूको मुख ताक्नु पर्दैन ।” उहाँले भन्नुभयो, “सीप सिकेर सदुपयोग गर्नुपर्छ, पसलनै सञ्चालन गर्नुपर्छ भन्ने छैन, घरमै मेसिन राखेर पनि काम खोजेर गर्न सकिन्छ, आम्दानी लिन सकिन्छ, आत्मनिर्भर बन्न सकिन्छ, आफ्नो र घरखर्च चलाउनका लागि घरका श्रीमानहरूको मुख ताकेर बस्नुपर्दैन्, यो राम्रो अवसर हो, यसको भरपूर सदुपयोग गर्नुहोस् ।”
कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख सङ्गीता सुवेदीले नगरभित्र बसोवास गर्ने पिछडिएका वर्ग, जाति, क्षेत्र तथा समुदायको उत्थानका लागि नगरपालिकाले हरेक वर्ष आत्मनिर्भर बनाउनका लागि तालिम प्रदान गर्दै आएको बताउनुभयो । उहाँले तालिममा सहभागी भएर सामग्री प्राप्त मात्र गर्ने उद्देश्यले नभएर साँच्चिकै स्वरोजगार बन्नुपर्छ भन्ने सोचका साथ तालिम लिन र सीप सिकेपछि अनिवार्य आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो ।
“यसअघि पनि नगरपालिकाले बादी तथा गन्धर्व समुदायका दिदीबहिनीहरूको उत्थानका लागि विभन्न तालिमहरु प्रदान गर्दै आएको छ, तालिम अवधिभर सहभागी भइदिने त्यसपछि आत्मनिर्भर तथा स्वरोजगार बन्न नसकेको देखियो, तालिम लिएपछि त्यो सीपलाई प्रयोग गर्नुपर्छ ।” काबा नगर प्रमुख सुवेदीले भन्नुभयो, “नगरपालिकाले लगानी लगाए अनुसार प्रतिफल दिनुपर्छ, लक्षित वर्गका लागि गरेको खर्चको उपयोग भयो भने मात्र हामीलाई खुसी मिल्छ, थप बजेट व्यवस्थापन गर्न हौसला प्रदान हुन्छ ।”
तालिम लिएर मात्र नहुने भन्दै उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गर्नुभयो । आर्थिक रूपमा सशक्त हुन र स्वरोजगार बन्न तथा आत्मनिर्भर बन्नका लागि यस्ता तालिम अत्यन्तै महत्त्वपूर्ण हुने भन्दै उहाँले तालिममा नियमित सहभागिता जनाएर निरन्तरता दिनुपर्ने र आयआर्जनमा जोडिनुपर्ने बताउनुभयो ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख इश्वरीप्रसाद विकले पछाडि पारिएका तथा अल्पसङ्ख्यक समुदायका बादी तथा गन्धर्व महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले मागेर तथा घुमेर खाने परम्परागत चलनलाई छाडेर आफूहरू आफ्नै खुट्टामा उभिनुपर्ने भन्दै तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कोहलपुर नगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले नगरपालिकाले दुई लाखको बजेट व्यवस्थापन गरेर बादी तथा गन्धर्व समुदायका महिलाहरूका लागि डेढ महिने सिलाइकटाइ तालिम सुरु गरिएको बताउनुभयो । उहाँले सहभागीहरूलाई आवश्यक खुट्टे सिलाइ मेसिन, आवश्यक कपडा, कैँची, फित्ता लगायतका सम्पूर्ण आवश्यक सामग्रीहरू निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार तालिमपश्चात् सम्पूर्ण सहभागीहरूलाई उक्त सिलाइ मेसिन निःशुल्क प्रदान गरिने छ ।
तालिमको प्रशिक्षकमा रत्ना सार्की रहेको नगरपालिकाले जानकारी दिएको छ । नगरभित्रका विभिन्न वडाहरूमा बसोवास गर्ने पिछडिएका वर्ग, जाति, समुदाय लगायतको उत्थानका लागि उनीहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिँदै आएको नगरपालिकाले जनाएको छ ।