• १२ वैशाख २०८२, शुक्रबार

भारतको रक्सौलबाट आठजना नेपाली किशोरको उद्धार

blog

उद्धार गरिएका नेपाली किशोरहरू । तस्बिर सौजन्य : न्यूज एजेन्सी नेपाल

पर्सा, वैशाख ११ गते । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट आठजना किशोरको उद्धार गरिएको छ ।

रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका आठजना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलबको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो । 

भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा आठजना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए । उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुईवटा निजी अपार्टमेन्टमा राखिएको थियो । वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो। 

प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेका र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो । पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो । उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्धार गरिएको हो । बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई परिवारजनको जिम्मा लगाइएको छ । उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको किन इण्डियाका प्रतिनिधि जोशी बताउनु भयो ।  

उहाँले भन्नुभयो, “उनीहरूलाई झुटो आश्वासन दिएर यो कम्पनीमा यसरी अगाडि बढ्नुपर्छ, उनीहरूलाई धेरै कमाउनुपर्छ भनेर लालच देखाइएको थियो । दारी आउनुभन्दा गाडी आउनुपर्छ तिमीहरूसँग, मैले यसरी तीन करोड कमाएको छु, तिमीहरूले पनि तीन करोड कमाउनुपर्छ लगायतका प्रलोभनमा राखी योजना अनुसार उनीहरूलाई राखिएको थियो । परिवारलाई पनि थाहा दिइएको थिएन । परिवारसँग कुरा हुँदा त्यहाँ कुनै व्यक्तिले निगरानी गरिरहेको थियो ।”  

कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै बोलाई त्यहाँ पुर्‍याउने कार्य गरिरहेको पाइएको छ । जोशीकाअनुसार उक्त कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।