• ११ वैशाख २०८२, बिहिबार

बाँसको पुल तर्न बिस रुपियाँ

blog

सिराहा र धनुषाको सिमानामा रहेको कमला नदीमा बनेको पुल भासिएपछि बाँस र काठद्वारा बनाएको पुल प्रयोग गर्दै स्थानीय ।

जीवछ यादव 

लहान (सिराहा), वैशाख ११ गते । सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलचालकले ४० रुपियाँ तिर्नुपर्ने बाध्यता छ । हुलाकी सडकमा पर्ने कमला नदीमा ४७० मिटर लामो र ११ मिटर चौडाइ भएको कमला पुल उद्घाटन नहुँदै भासिएपछि बर्खामा कमला नदी भएर ओहोरदोहोर गर्न निकै सास्ती खेप्नु परेको छ । 

सिराहा नगरपालिकाले १५ लाख ७५ हजार रुपियाँमा छ महिनाका लागि असारसम्म बाँस र काठको अस्थायी पुल निर्माण गरिदिएपछि २० रुपियाँको टिकट लिएर दिनभरि ओहोरदोहोर गर्न सकिने ठेकेदार वसन्त मुखियाले बताउनुभयो । उक्त बाटो भएर दिनको एक हजार वटासम्म मोटरसाइकल ओहोरदोहोर गर्ने गर्छन् । बाँस र काठको अस्थायी पुल नहुँदा स्थानीयले आफ्नै लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा सय रुपियाँ तिर्नु पथ्र्यो । सिराहा नगरपालिकाले व्यवस्थापन गरेपछि २० रुपियाँमा ओहोरदोहोर भइरहेको स्थानीयले बताए । 

एक महिनाअघि कमला नदीमा आएको बाढीका कारण बाँस र काठले निर्माण भएको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठुलो बाढी आयो भने पुल बगाएर लैजाने अवस्थामा पुगिसकेको छ । 

स्थानीय बद्रीनारायण यादवले पक्की पुल भासिएको चार वर्ष हुनै लाग्दा पनि पुल निर्माण कार्य अघि नबढ्दा कमला नदी पार गर्न जोखिम मोल्नु परेको पीडा पोख्नुभयो । उहाँका अनुसार मधेशको जीवनरेखा रहेको हुलाकी सडक निर्माणले ल्याएको खुसी पुल भासिएपछि निराशामा बदलिएको छ । प्रधानमन्त्री, विभागीय मन्त्री, मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलगायतले पुल मर्मत गर्ने प्रतिबद्धता गरे पनि काम सुरु नभएको उहाँको भनाइ छ । स्थानीय मल्लाह समुदाय र सिराहा नगरपालिकाको सहयोगमा वैकल्पिक उपाय प्रयोग गरेर वारपार गर्ने काम भइरहेको छ । 

दबाबमा बन्दै थियो पुल 

पुल निर्माणका लागि २०६८ मङ्सिरमा २४ करोड ९१ लाख रुपियाँमा पप्पु विल्डर्स कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । पटक पटक म्याद थप्दा पनि पुल निर्माण अघि बढ्न सकेन । २०७५ सालमा हुलाकी राजमार्ग निर्माणका लागि लेखक रामरिझन यादवको नेतृत्वमा रिले अनशन गरी दबाब दिएपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ असार १३ गतेभित्र सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम तीव्र गतिमा अघि बढ्यो । काम सम्पन्न भएर उद्घाटन गर्न तयारी भइरहेको अवस्थामा २०७८ साल असार १७ गते आएको बाढीले पुलको पूर्वतर्फको पिलर भासियो र पश्चिमतर्फको पिलरमा समेत असर परेको हो । 

पुल पुनर्निर्माणका लागि पत्रकार देवकुमार यादव र हुलाकी सडक निर्माण सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले स्थानीयको सहयोगमा दबाब सिर्जना गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वउपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्थलगत निरीक्षणपछि चाँडै पुलको पुनर्निर्माण हुने अश्वासन दिनुभएको भए पनि अहिलेसम्म आश्वासनमै सीमित रहेको छ ।