• ११ वैशाख २०८२, बिहिबार

चन्द्रकोटको तेस्रो अध्यक्ष कप भलिबल सुरु

blog

चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप भलिबलको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, वैशाख ११ गते । गुल्मीको चन्द्रकोटमा गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभयो । 

प्रतियोगीतालाई सम्बोधन गर्दै खत्रीले चन्द्रकोटका सवै सूचाङ्कहरूमा सुधार हुँदै गएको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रमा बिगतदेखि चन्द्रकोटमा छवि राम्रो भएकाले पालिका स्तरका खेल र प्रतिस्प्रर्धाले खेलाडीहरूलाई ऊर्जा तथा क्षमता विकासमा टेवा पुर्‍याउने बताउनुभयो । अध्यक्ष कपमा चन्द्रकोट गाउँपालिका भित्रका १०, मुसिकोट नगरपालिकाका दुई, कालीगण्डकीबाट एक, बरेङ्ग गाउँपालिका र बडिगाड नगरपालिका बाग्लुङ्गबाट एक, एक गरेर १६ समूहले प्रतिस्पर्धा गर्दै छन् । 

प्रतिस्प्रर्धामा प्रथम हुनेले ७० हजार रुपियाँ, द्वितीयले ५० हजार रुपियाँ, तृतीय हुनेले ३० हजार रुपियाँ नगद ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

सेमिफाइनल खेल चन्द्रकोट ४(ए) र चन्द्रकोट ६, चन्द्रकोट ५ र चन्द्रकोट ५ (बि), मुसिकोट ५ र बरेङ्ग ३ तथा चन्द्रकोट १ र कालीगण्डकी बिच प्रतिस्प्रर्धा हुँदैछ । त्यस्तै चन्द्रकोट २ र चन्द्रकोट ७, मुसिकोट ५ र बरेङ्ग ४, चन्द्रकोट ५ (ए) र चन्द्रकोट ३, बडिगाड ५ र चन्द्रकोट ४ (बि) बिच सेमिफाइनलमा प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा अधिकृत नयनसिह ठकुरीले जानकारी दिनुभयो । 

गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम अन्तरगत साढे पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँका खेल प्रतिभाहरूको पहिचानका लागि बर्सेनि प्रतियोगिता गर्दै आएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँले पुर्वाधारसंगै शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो ।