• २ भदौ २०८१, आइतबार

धरानमा अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल हुने

blog

फुटसल प्रतियोगिता बारे जानकारी दिँर्दै आयोजक । तस्बिर : गोरखापत्र

निशा राई 

धरान, भदौ २ गते । तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता असोज ३ गतेदेखि ५ गतेसम्म धरानमा हुने भएको छ । 

सञ्जीवनी केन्द्रको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ, भुटान, भारतका सिलगुडी, सिक्किम, दार्जिलिङ, ग्यान्टोक लगायत सहरका टोलीको सहभागी हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा ओपन रिकभरिङतर्फ प्रथम पुरस्कार नगद दुई लाख रुपियाँ र दोस्रो पुरस्कार एक लाख  रहेको छ । यसैगरी भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रहेको छ । महिलातर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार रुपियाँ र ट्रफि, मेडल र प्रमाण पत्र  रहेको छ । 

प्रतियोगिताका व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही पाँच हजार, यसैगरी ओपन रिकभरिङ प्रतियोगितातर्फ सेमिफाइनल देखि म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने छ ।प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रुपियाँ रहेको सञ्जीवनी केन्द्रको अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिनुभयो । 

“सञ्जीवनी केन्द्र” युवाहरूलाई लागु औषध दुर्व्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि २०६५ सालमा स्थापना भएको संस्था हो । यस संस्थाको कार्यालय धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको छ ।

सञ्जीवनी  केन्द्रले हाल सम्म धरान, पोखरा, काठमाडौँ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागु औषध दुर्व्यसनीमा फसेका दुई हजार भन्दा बढी युवाहरूलाई परामर्श तथा सेवा उपचार गर्दै आएको छ ।