केशव राज भट्ट
(बाशुलिङ्ग) बैतडी, असार ९ गते । बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५५ करोड ९० लाख ७४ हजार एक सय नौ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष धाना धामीले बजेट प्रस्तुत गर्दै चालु र पूँजीगत खर्चका लागि विनियोजन गरिएको विवरण प्रस्तुत गर्नुभएको हो ।
बजेटअनुसार ३७ करोड ४९ लाख ६७ हजार एक सय नौ रुपियाँ चालुतर्फ र १८ करोड ४१ लाख ७ हजार रुपियाँ पूँजीगततर्फ विनियोजन गरिएको उपाध्यक्ष धामिले बताउनुभयो । बजेट स्रोततर्फ हेर्दा पालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत नौ करोड ६० लाख रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदानअन्तर्गत ८२ लाख ३० हजार रुपियाँ प्राप्त गरेको छ ।
नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँटअन्तर्गत १० करोड ७३ लाख ९८ हजार एक सय नौ रुपियाँ प्राप्त गरेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त राजस्व २९ लाख ७१ हजार रुपियाँ प्राप्त गरेको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान २२ करोड ९९ लाख रुपियाँ प्राप्त गरेको छ भने प्रदेश सरकारको सशर्त अनुदान ७० लाख रुपियाँ र आन्तरिक आम्दानी ७६ लाख १५ हजार रुपियाँ रहेको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको सम्भावित बैंक मौज्दात चार करोड ७० लाख ६० हजार रुपियाँ रहने अनुमान गरिएको उपाध्यक्ष धामीले बताउनुभयो ।
बजेट वक्तव्यमा सिगास गाउँपालिकाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाएको छ ।