सिराज खान
नेपालगन्ज, असार ९ गते । भारत उत्तरप्रदेशको राजधानी लखनउमा गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नौै जना नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको छ ।
भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा आइतबार आयाजना गरिएको नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्यिक उत्सवमा गोरखापत्रकर्मी खानसहित नेपाली साहित्यकारहरुलाई सम्मान गरिएको हो ।
गोरखापत्रकर्मी खानसहित नेपालका वरिष्ठ साहित्यकाहरहरु डा. हरिप्रसाद तिमिल्सिना, कल्पना पौडेल, इन्द्रबहादुर बस्नेत, ईश्वरी रिजाल, मिना बराल, ऋषिराम सापकोटा र खगेन्द्र नेपाललाई सोे अवसरमा साहित्य श्री सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेश सरकारका अल्पसङ्ख्यक मन्त्री दानिस आजाद अन्सारीले नेपालका वरिष्ठ साहित्यकार तथा लेखकहरुसहित भारतीय साहित्यकार र लेखकहरुलाई सम्मान पत्र र सम्मान चिन्ह प्रदान गरेर सम्मानित गर्नुभयो ।
सो अवसरमा बोल्दै अल्पसङ्ख्यक मन्त्री अन्सारीले भारत र नेपालको सम्बन्ध जनस्तर र सरकारीस्तर दुबै माध्यमबाट अतिनै घनिष्ठ तथा प्रगाढ रहेको जनाउँदै सीमाना खुला छाडिनु यसको प्रमाण भएको बताउनुभयो ।
उहाँले भारत र नेपालका कला, संस्कृति, भेषभुषा तथा धार्मिक परमपरा र रितिरिवाजहरु एक अर्कासँग मिल्ने भएकाले पनि दुबै देशका जनताबिच घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो ।
नेपाल र भारतको साहित्य र संस्कृतिको सङ्गमका रुपमा रहेको यो महोत्सवमा भारतीय र नेपाली साहित्यको समृद्ध इतिहासलाई उजागर गरिएको तथा दुबै देशका साहित्यिक परम्पराहरूको आदानप्रदान गरिएको कार्यक्रम आयोजक रुबरु फाउन्डेसनका अध्यक्ष तथा भारतका वरिष्ठ साहित्यकार ईरशाद राहीले बताउनुभयो ।
उहाँका अनुसार सो अन्तर्राष्ट्रिय साहित्यक उत्सवमा नेपाल र भारतको सम्बन्ध सुदृढ बनाउनका लागि निरन्तर कलम चलाउँदै आउनु भएका नेपाली साहित्यकार तथा लेखकहरूको सम्मान, कवि समेलन र सांस्कृतिक कार्यक्रमहरू गरिएको छ ।
कार्यक्रमको उद्देश्य साहित्य र संस्कृतिका विभिन्न विधाहरूको प्रवर्धन गर्नु रहेको जनाइएको थियो भने सो कार्यक्रममा सहभागिता जनाउने साहित्यकार र लेखकहरूले आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर पाएका थिए ।
कार्यक्रममा साहित्यिक संवाद, पुस्तकहरूको विमोचन र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो ।
यो कार्यक्रमले दुबै देशको साहित्यिक गतिविधिलाई समृद्ध बनाउनुका साथै दुवै देशका साहित्यकारहरूको बिचमा नयाँ सम्बन्ध र सहकार्यको सृजनामा पनि मद्दत गरेको आयोजक संस्थाका अध्यक्ष राहीले बताउनुभयो ।