• २ भदौ २०८१, आइतबार

हिमताल फुट्दा बाढी

blog

सोलुखुम्बुमा हिमताल विस्फोट भएपछि भेलबाढी पस्दा क्षतिग्रस्त थामे गाउँ ।

काठमाडौँ, भदौ २ गते । माथिल्लो भेगमा रहेका दुई वटा हिमताल विस्फोट भएका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँमा ठुलो भेलबाढी पसेको पुष्टि भएको छ । काठमाडौँबाट रक्षामन्त्री मानवीर राई, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, सांसद तथा स्थानीय जनप्रतिनिधिसहितको टोलीले शनिबार हेलिकोप्टरबाट गरेको अवलोकनपछि दुई वटा हिमताल विस्फोट भएर बाढी गएको निष्कर्ष निकालेको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार थामे गाउँबाट उत्तरपूर्व ठाडो उकालो लागेपछि पाँच किलोमिटरमाथि दुई पहाडको खोँचमा लहरै जसो साना तथा मझौला आकारका पाँच वटा हिमताल छन् । तीमध्ये पहाडको भिर छुने गरी रहेको सानो हिमताल र त्यससँगै जोडिएको माथिल्लो अर्को हिमताल फुटेका छन् । 

हिमताल फुट्नुअघि माथिल्लो तालमा हिमपहिरो खसेको हुन सक्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “त्यसपछि त्यो ताल फुटेर तल्लो तालमा मिसिएपछि त्यो पनि फुटेर थामेखोलामा मिसिँदै बाढी बनेको हो ।”  

पहिलो तालको पानी पूरै निख्रिएको छैन तर दोस्रो तालको पानी पूरै निख्रिएर माथिबाट थपिँदै गरेको छ । उहाँले भन्नुभयो, “मेलम्चीकै जस्तो अवस्था छ, ढुङ्गा, माटो, बालुवा जेजे भेटिन्छ बाटोमा सबै गडगडाउँदै बाढी गाउँ पसेको छ, पहाडको खोँचमा सानो धार देखिए पनि गाउँ छिर्नेबेला अत्यधिक बाढी फैलँदा आधा बस्ती लगेको देखियो ।”

दिउँसोको समय भएकाले मानवीय क्षति भएन तर ठुल्ठुला ढुङ्गासहितको गेग्य्रान बहाव पस्दा त्यहाँको विद्युत्गृहको मुख्य संरचना, विद्यालय, घर तथा होटल बगाएरको उहाँले जानकारी दिनुभयो । छेउमै रहेका अर्का दुई वटा मझौला आकारका तालले उच्च जोखिम बढाइरहेका छन् । टोलीले खिचेको भिडियोमा पनि यो दृश्य प्रस्ट देखिन्छ । ती दुई ताल पनि सँगै जोडिएकाले एउटा फुटेको खण्डमा अर्कोमा थपिएर शुक्रबारको भन्दा ठुलो बाढीको खतरा उच्च रहेको देखिन्छ । भिरपट्टिको हिमतालको नाम पारे चोमुचे रहेको स्थानीय पासाङ सोनाम शेर्पाले जानकारी दिनुभयो । 

बस्ती सार्नुको विकल्प छैन

कुनै पनि बेला विस्फोट हुने खतरामा रहेका अन्य तालका कारण बाढीको खतरा कायमै रहेकाले थामे गाउँको बाँकी भेगको दिगो सुरक्षाका लागि बस्ती माथिल्लो डाँडामा सार्नुको विकल्प नरहेको पोखरेलले बताउनुभयो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले पनि हिउँ पग्लेर बनेका साना कुण्ड विस्तारै हिमतालमा परिणत भएको अनुमान लगाउनुभयो । ताल फुटेको ठाउँमा फेरि पुगेर थप सुरक्षाका उपाय गर्न सकिने सम्भावना र स्रोत साधन दुवै नभएको दाबी उहाँले गर्नुभयो । 

त्यसैले कसरी भविष्यमा हुन सक्ने सम्भावित बाढीबाट बाँकी गाउँ जोगाउने भन्ने विषयमा छलफल थालिएको पाण्डेले जानकारी दिनुभयो । हिमताल फुटेको स्थानभन्दा केही तलको लेकमा पनि थामे गाउँको केही बस्ती छ । 

गाउँमा बिजुली र सञ्चारको व्यवस्था नहुँदा सम्पर्क स्थापित गरेर काम गर्न कठिनाइ भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुली छैन, फोन पनि चल्दैन नाम्चे बजार पुगेर सूचना आदान प्रदान गर्दा नि बित्छ ।”

खाद्यान्न र लत्ता कपडा छैन

शुक्रबारको बाढीपछि सम्पर्कविहीन अन्दाजी ५० वर्षका निमानुरु शेर्पाको अत्तोपत्तो छैन । शनिबार पनि खोजी भएको तर नभेटिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार विस्थापित भएका १४० जना आफन्त र छरछिमेकको शरणमा रहनुभएको छ ।  कतिपय मानिस होटल तथा विद्यालयमा काम गर्न आएका रहेका छन् । घर तथा होटलसमेत गरेर २० वटा घर बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । विद्यालय र छात्रावास गरेर तीन वटा भवन पनि बाढीले नष्ट गरेको छ । गाउँमा रहेको एक मात्र क्लिनिक बगाएकाले अप्ठ्यारो परेको छ । विद्युत् गृह पनि क्षतिग्रस्त बनेको छ । खाने पानीको मुहान धेरै रहेकाले समस्या छैन । पर्यटकीय क्षेत्र भएकाले स्थानीयको घरमै होटल तथा रिसोर्ट बनाएर हिमाल जानेलाई सेवा दिँदै आएका थिए । त्यहाँ भेटिएका १३ घरपरिवारलाई प्रतिघरधुरी १५ हजार रुपियाँका दरले तत्काल राहत प्रदान गरिएको छ ।