• १ भदौ २०८१, शनिबार

विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण

blog

उन्नत जातका बाख्रा । फाइल तस्बिर

गोदावरी (कैलाली), भदौ १ गते । जिल्लामा महिला कृषि सहकारी समूहमा आबद्ध छ सय ७७ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

जिल्लामा सञ्चालित २५  कृषि सहकारी संस्थामा आबद्ध छ सय ७७ विपन्न महिलालाई एक÷एकका दरले बाख्रा वितरण गरिएको हो । विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, मुक्तकमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा छ सय ४८ उन्नत जातका बाख्रा वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताउनुभयो ।

कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उन्नत जातका बाख्रा वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताउनुभयो । विपन्न महिलालाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न बाख्रासँगै औषधि, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । 

पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा फर्म दर्ता गरी बाख्रापालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेको जनाइएको छ । सरकारले पछिल्ला केही वर्षयता व्यावसायिकरुपमा बाख्रापालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि जिल्लामा किसानको आकर्षण बढ्दै जाँदा बर्सेनि मासु उत्पादनमा समेत वृद्धि हुँदै आएको केन्द्रका सूचना अधिकारी कठायतले जानकारी दिनुभयो ।

आव २०८०/८१ मा ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दररेट अनुसार प्रति किलो खरी जातका बाख्रा तीन सय ८५, बयर जातको प्रति किलो पाँच सय ५१ र बयर जातका बोका प्रति किलो आठ सय ८२ का दरले खरिद गरी वितरण गरिएको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कअनुसार कैलालीमा आव २०७७/७८ दुई सय पाँच, २०७८/७९ मा सात सय ५५ र २०७९/८० मा एक हजार तीन सय दुई बाख्राका फर्म दर्ता भई व्यावसायिक रूपमा बाख्रापालन गरिँदै आएको छ । रासस