• ३२ साउन २०८१, शुक्रबार

अलमलको ‘उलझ’

blog

काठमाडौँ, साउन ३२ गते । चलचित्र ‘उलझ’ को कथा पुलिस अफिसर सुहाना भाटिया (जान्हवी कपुर) को हो, जसको परिवार सधैँ देशभक्तिको परम्परा पालना गर्ने आधारमा मात्र चल्ने गर्छ । यसका साथै उनीमाथि नातावादका कारण जागिर पाएको आरोप लगाइन्छ ।  उनी जासुस भएको र गोप्य सूचना चुहावट गरेको पनि आशङ्का गरिन्छ । अन्ततः जान्हवी यी चिजमा यति फस्छिन् कि उनी आफैँ तिनीहरूलाई सामना गर्न अघि बढ्नुपर्ने अवस्था आउँछ । त्यसैले पनि उनी निकै चिन्तित देखिन्छिन् । उनको यही कामका कारण उनी व्यक्तिगत षड्यन्त्रको सिकार बन्न पुग्छिन् । उनको भविष्य नै धरापमा पर्ने अवस्थामा हुन्छ । 

उनी यस षड्यन्त्रमा यसरी फस्दै जान्छिन् कि उनलाई थाहा छैन कसलाई विश्वास गर्ने र कसलाई नगर्ने ? के उनी यो षड्यन्त्रबाट परास्त हुने छिन् वा उनी बहादुरीसाथ लड्ने छिन् । योसँगै चलचित्रमा उनी रहस्यमय तरिकाले बेपत्ता हुन्छिन् । चलचित्रमा  आइएसआई र अर्को एउटा कोण पनि देखाइएको छ । सुहाना भाटिया एक्लै बेपत्ता भएकी हुन् वा उनलाई कसैले अपहरण गरेको हो, यी सबै प्रश्नको जवाफ नै चलचित्रको कथा हो । 

चलचित्रमा जान्हवी कपुरले आफ्नो बेजोड अभिनयमार्फत उनलाई नातावादको आरोप लगाउने आलोचकलाई मौन बनाइदिएकी छिन् । जान्हवीको बोल्ने शैली र डायलग गजबको छ । अर्का कलाकार नकुल भाटियाको भूमिकामा गुलसन देवैयाले उत्कृष्ट अभिनय गरेका छन् । रोशन म्याथ्युले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् । त्यस्तै वनराज भाटियाको भूमिका आदिल हुसेनलाई सुहाएको छ । उनी एक अनुभवी अभिनेता हुन् र आफ्नो क्षेत्रमा राम्ररी जानकार छन् । ज्याकबको भूमिकामा मेयाङ चाङ र सलिमको भूमिकामा राजेश तैलाङले नबिर्सने अभिनय गरेका छन् । 

‘उलज’ लाई सुधांशु सारियाले निर्देशन गरेका हुन् । चलचित्रमा कलाकार छनोट गर्दा उनले पात्र सुहाउने कलाकार छनोट गरेका छन् । चलचित्रको सम्पादन पक्ष सटीक छ । निर्देशनको अभावको कुरा गर्दा पहिलो मध्यान्तरमा चलचित्र द्रुत गतिमा अघि बढेको देखिन्छ । जसका कारण धेरै कुरा स्पष्ट हुन सकेको छैन । चलचित्र थ्रिलर भए पनि त्यसका लागि दर्शकले अन्त्यसम्म कुर्नुपर्ने भएकाले कथा सुरुदेखि नै सिधा अघि बढेको र कथामा नयाँपन छैन भन्नु गलत हुने छैन ।