• ९ जेठ २०८१, बुधबार

वैदेशिक रोजगारीमा ठगी : दस जनाविरुद्ध मुद्दा दायर

blog

काठमाडौँ, वैशाख २४  गते । वैदेशिक रोजगार विभागले ठगीको अभियोगमा विभिन्न व्यक्ति र कन्सल्टेन्सीविरुद्ध मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै १२२ जनाबाट एक करोड ४६ लाख रुपियाँँभन्दा बढी ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीविरुद्ध मुद्दा दायर गरेको हो । 

आकर्षक तलब सुविधाको प्रलोभन देखाई इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिसले वैदेशिक रोजगार ऐनविपरीत वैदेशिक रोजगारीमा पठाउने भन्दै १२२ जनाबाट रकम उठाएर ठगी गरेको आरोप लगाएको छ । विभागले ८२ लाख चार हजार रुपियाँ हर्जनासहित दुुई करोड ४६ लाख १२ हजार रुपियाँ माग दाबी गर्दै आठ जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारसम्बन्धी कार्य गर्न विभागसँग इजाजत लिएको हुनुपर्छ । मुद्दा दायर गरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । 

सूचना अधिकारी भुसालका अनुसार कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहितका व्यक्तिले रोजगारीका लागि माल्टा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख ३५ हजार रुपियाँसम्म रकम उठाएको देखिएको छ ।एक करोड ६४ लाख आठ हजार ठगी गरेको र त्यसमा ८२ लाख चार हजार हर्जनासहित दुई करोड ४६ लाख १२ हजार माग दाबीसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । 

यसैगरी विभागले वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठगेको अभियोगमा दुई जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने भन्दै कास्कीका सदीक्षा गुरुङ र उहाँकी आमा ६२ वर्षीया खिनशोभा गुरुङले ४१ लाख ४२ हजार पाँच सय रुपियाँ लिएर ठगी गरेको अभियोग गुरुङ आमाछोरीलाई लगाइएको छ । विभागले उनीहरूविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार ठगीको रकममा २० लाख ९१ हजार २५० हर्जनासहित ६२ लाख ७३ हजार ७५० रुपियाँ असुलउपरको दाबीसहित न्यायाधीकरणमा मुद्दा दायर गरेको छ । ठगीको जाहेरीका आधारमा आमाछोरी खिनशोभा गुरुङ र सदीक्षा गुरुङ गएको चैत २४ गते पक्राउ परेका थिए । विभागका अनुसार निज सदीक्षा र खिमशोभाले ठगी गरेको पुष्टि भएकाले रकम असुलउपरका लागि न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।