• ३२ साउन २०८१, शुक्रबार

उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट

blog

काठमाडौँ, साउन ३१ गते । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि होली सी र भेटिकन सिटीका महामहिम राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल र होली सीबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भयो । उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबिच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्ध प्रति खुसी व्यक्त गर्नुभयो ।

‘‘नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा वृहत् मानव कल्याणका मान्यताहरूमा अटल विश्वास राख्ने मुलुक हुन्, उहाँले भन्नुभयो, ‘‘शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्‍याउन नेपालले सरोकारवालाहरूसँग हातेमालो गर्दै आएको छ ।’’ उहाँले होली सी विश्व शान्ति प्रति कटिबद्ध मुलुक भएको सन्दर्भमा दुई मुलुकले यो उद्देश्य हासिल गर्न योगदान दिन सक्ने बताउनुभयो ।  

उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यो उद्देश्य प्राप्तिका लागि सरकारले लगानी तथा वैदेशिक व्यापारका क्षेत्रहरूमा साझेदारीहरू विस्तार गर्दै लैजाने योजना बनाएको बताउनुभयो । 

‘‘हाम्रा दुई मुलुकबिच अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, साना मुलुकहरूको मुद्दा, आपसी सद्भाव तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू रहेका छन्, उहाँले भन्नुभयो, ‘‘दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा आपसी हितलाई सुनिश्चित गर्नको लागि हामी होली सीसँग सहकार्य गर्न तयार छौ ।’’

उपराष्ट्रपति यादवले महामहिम पोप फ्रान्सिस समक्ष उहाँको सुख र सुस्वास्थ्यका लागि शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्दै त्यहाँका मित्रवत् जनताका लागि शान्ति एवम् समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो । 

महामहिम राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो ।

‘‘मलाई नेपालको वातावरण असाध्यै मन पर्छ । उहाँले भन्नुभयो, ‘‘नेपालको हिमाल तथा पर्वत शृङ्खलाहरू विश्वका थुप्रै पर्यटकहरूलाई आकर्षणको केन्द्र हुन् ।’’ उहाँले नेपाल आफ्नो घर जस्तो लागेको उल्लेख गर्दै यहाँका नागरिक बलिया र कडा परिश्रमी भएकोमा खुसी र सम्मान व्यक्त गर्दछु ।