• १६ भदौ २०८१, आइतबार

विकास निर्माण सामग्रीको ढुवानी घट्यो

blog

पैदल मार्गबाट विकाश निर्माणका सामाग्री ढुवानी गरेर ल्याउँदै मालवाहक सवारी साधन । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन ३१ गते । जिल्लामा हुने सार्वजनिक विकास निर्माणका सामग्रीहरूको ढुवानी दर सस्तो भएको छ । खार्पुनाथ गाउँपालिका–५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै विकास निर्माणका सामग्रीहरूको ढुवानी दर निक्कै सस्तो भएको हो । 

जिल्ला दररेट समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले चालु आर्थिक वर्ष ०८१/०८२ बाट जिल्लाभर निर्माण हुने सार्वजनिक विकास निर्माणका सामग्रीहरूको ढुवानी दर अघिल्लो आर्थिक वर्षभन्दा २५ गुनाले घटेर निर्धारण भएको बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षसम्म सडक सञ्जाल नजोडिएको भन्दै हवाई मार्गबाट विकास निर्माणका सामग्रीहरूको ढुवानी दर निर्धारण गरेर नेपालगन्जबाट प्रतिकेजी १५२ रुपियाँ रहेकोमा यो वर्ष हवाई मार्गबाट निर्माण सामग्रीहरूको हवाई ढुवानी दर नै नराखेर सबै पैदल मार्गको दर निर्धारण गरिएको बताउनुभयो । 

उहाँले सुर्खेतबाट बढीमा प्रतिकेजी २६ रुपियाँ ढुवानी दर कायम गरिएको कारण पनि ढुवानी घटेको बताउनुभयो । उहाँले जिल्ला दररेट निर्धारण समितिले व्यापक छलफल गरेर यस वर्षबाट जिल्लाभर पैदल मार्गबाट मात्र निर्माण सामग्री ढुवानी गर्नुपर्ने निर्णय गरे अनुसार अब योजनाका लागि लागत पनि घट्नेछ । हालको पैदल मार्गको ढुवानी दर पनि प्रतिकेजी २६ रुपियाँ हुनुमा खार्पुमा पक्की पुल निर्माण नभएको कारण रहेको उहाँले बताउनुभयो । 

समितिका सदस्य सचिव एव पूर्वाधार विकाश कार्यालयका प्रमुख नरेश जैसीले यस वर्षबाट अब योजनाको लागत पनि तीस प्रतिशतसम्म घट्ने बताउनुभयो । उहाँले सडक नजोडिएको कारण प्रत्येक वर्ष जिल्लाबाट ठुलो लगानी ढुवानी कै नाममा खर्च हुने र योजनाको लागत बढ्ने गरेको बताउँदै अब जिल्लामा आउने बजेटबाट पनि योजनाको लागत घट्नुका साथै थप अन्य विकासका काम गर्न सकिने बताउनुभयो । जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै योजनाका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू ढुवानी गर्नु पर्ने ठुलो बजेट समेत कटौती हुने उहाँले बताउनुभयो । यसबाट प्रत्येक निर्माण सामाग्रीको मूल्य पनि घटेको छ ।