• १६ भदौ २०८१, आइतबार

राष्ट्रियसभामा नियमित शून्य समय चलाइने

blog

काठमाडौँ, साउन ३१ गते । सङ्घीय संसद अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराउनुभएको हो । 

यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो । आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाउनुभयो । राष्टियसभाको आजको बैठकमा सांसदहरु पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताउनुभयो ।

सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरुको घरघरमा पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राख्नुभयो । सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरु असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरुका परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनःस्थापना गरिनुपर्ने बताउनुभयो । सांसद कृष्णप्रसाद अधिकारीले नुवाकोटको बञ्चरेडाँडास्थित ‘ल्यान्डफिल्ड साइट’ वरपरका बस्तीहरु विभिन्न रोगको जोखिममा रहेको विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस