• ५ भदौ २०८१, बुधबार

पाइपलाइनमार्फत ग्यास आयात गर्न छलफल

blog

काठमाडौँ, साउन ३१ गते । भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म १३० किलोमिटर लामो पाइपलाइनमार्फत खाना पकाउने एलपी ग्यास आपूर्ति गर्ने तयारी गरिएको छ । सो स्थानमा पाइपलाइन निर्माण गरी ग्यास ढुवानी गर्ने विषयमा दुवै देशका उच्च पदस्त अधिकारीबिच छलफल हो । 

भारतमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा ग्यासको पाइपलाइन निर्माण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पाइपलाइन निर्माण गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको मन्त्रालयले जनाएको छ । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भारतीय प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह सिंह र इन्डियन आयल कर्पोरेसन (आइओसी) का उच्च नेतृत्वसँग ग्यासको पाइपलाइन र ग्यास भण्डार निर्माण गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । पाइपलाइन निर्माणको लगानी मोडालिटीको विषय टुङ्गो लगाउन बाँकी रहेको उहाँको भनाइ छ । 

भौतिक पूर्वाधारको संरचना, पाइपलाइन योजना अघि बढाउन लगानीको मोडालिटी, ग्यास मात्रै ल्याउने हो वा निगमकै ब्रान्डमा खाना पकाउने सिलिन्डर पनि उत्पादन गर्ने विषयमा छलफल र अध्ययनको माध्यमबाट टुङ्गो लगाएर योजना अघि बढ्ने निगम प्रमुख भट्टले जानकारी दिनुभयो । 

हाल निजी व्यवसायीले भारतका विभिन्न राज्यबाट भारतीय नम्बरका ग्यास बुलेटबाट ग्यासको ढुवानी गर्दै आएका छन् । 

 हाल निगमसँग ग्यासको भण्डार नै छैन । निजी क्षेत्रसँग ग्यास बुलेटमा आठ हजार मेट्रिक टन क्षमताको ग्यास भण्डार छ । बजारमा मासिक ४० देखि ४५ हजार मेट्रिक टन ग्यासको खपत हुने गरेको छ । व्यवसायीले हाल भारतको पारादीप, कर्नाल, हल्दिया, बरौनीबाट नेपालमा ग्यास ढुवानी गर्दै आएका छन् । भारतको पारदीपबाट एक हजार दुई सय किलोमिटर टाढाबाट नेपालमा ग्यास आयात हुने गरेको छ ।  

निगम प्रवक्ता मनोजकुमार ठाकुरले पाइपलाइनबाट ग्यास ढुवानी गर्दा वार्षिक छ अर्ब ढुवानी रकम बचत हुनका साथै ग्यासको आपूर्ति व्यवस्था सहज हुने बताउनुभयो । अहिले भएको मोतीहारी–अमलेखगन्ज पाइप लाइनकै रुटसँगसँगै वीरगन्जको भन्सार कार्यालयसम्म ग्यासको पाइपलाइन ओछ्याउने योजना रहेको निगमले जनाएको छ ।

मोतीहारी–सर्लाही एलपी ग्यास पाइपलाइन विस्तार गर्न इन्डियन आयल कर्पोरेसन (आइओसी) ले प्रारम्भिक चरणको इन्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्षअघि निगमलाई बुझाएको थियो । प्रारम्भिक चरणको डीपीआर अनुसार यो मोतीहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइनको कुल लम्बाई १३० किलोमिटर दुरी रहेको छ । यो पाइपलाइनको कुल लम्बाईमध्ये भारतको विहार क्षेत्रमा ३२.६५४ किलोमिटर र नेपालमा ९८.२९९ किलोमिटर पर्छ । 

मोतीहारीदेखि सर्लाहीसम्म पाइपलाइन निर्माण गर्दा १५ अर्ब रुपियाँ लागत लाग्ने डिपिआरमा उल्लेख छ । सर्लाहीमा रहेको निगमकै जग्गामा १० देखि १५ हजार मेट्रिक टन क्षमताको ग्यास भण्डारगृह निर्माण गर्ने निगमको योजना छ । 

यो पाइपलाइनको सुरुवात विन्दु भारतको मोतीहारी रिफाइनरी टर्मिनल हुने छ भने अन्तिम विन्दु नेपालको सर्लाहीको ग्यास टर्मिनलसम्म हुने डिपिआरमा उल्लेख छ । 

निर्माण हुने यो पाइपलाइन २५ वर्षसम्म टिक्ने डिपिआरमा उल्लेख छ । ग्यासको पाइपलाइन प्रतिवर्ष आठ हजार घण्टा सञ्चालनमा आउने डिपिआरमा उल्लेख छ । यस अनुसार दैनिक २२ घण्टासम्म यो पाइपलाइन सञ्चालनमा रहने छ । निर्माण सुरु भएको ३६ महिनामा यो पाइपलाइन सम्पन्न हुने डिपिआरमा उल्लेख छ ।