• १३ साउन २०८१, आइतबार

एमालेले जनभावना अनुरुप काम गरेको छैन : नैनसिंह महर

blog

फाइल तस्बिर

धनगढी, वैशाख २३ गते। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा (एमाले)ले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाउनुभएको छ। 

‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ। व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ, ९८ प्रतिशत झुट बोलेको छ’, शुक्रबार डडेलधुरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो। 

अब एमालेको झुटको खेती नटिक्ने उहाँको भनाइ छ।  काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताएका छन्। ‘कांग्रेस जनताको पार्टी हो। हामीलाई सधैँ जनताको माझमा जानु छ। भ्रम छरेर एक पटक त चुनाव जितिएला। तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिने छन्’, उहाँले भन्नुभयो। 

दुईतिहाइको सरकारको नेतृत्व गर्नुभएका केपी ओलीको कार्यकालमा भएको विकासको हिसाब जनताले खोज्ने उहाँको भनाइ छ। ‘‘स्थानीय निर्वाचनका उम्मेदवार र दललाई जवाफदेही बनाउनुपर्छ। हामी हाम्रा प्रत्येक उम्मेदवारलाई विकास र जनजीवनका सवालमा जवाफदेही बनाउने छौं’’, महरले भन्नुभयो। 

देश अप्ठ्यारोमा पर्दा काँग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सिर्जना गर्न महरले आग्रह गर्नुभयो। ‘‘देश शान्ति प्रक्रियामा कांग्रेसको नेतृत्वमा गयो। संविधान कांग्रेसकै नेतृत्वमा जारी भयो। संसद् विघटन हुनबाट काँग्रेसले नै जोगायो। अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको रक्षा काँग्रेसले नै गर्‍यो। विकास निर्माणका काम कांग्रेसले नै गर्छ। स्थानीय तहको निर्वाचन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ। त्यसो भए एमालेलाई किन विजयी गराउने ?’’, उहाँले भन्नुभयो। 

प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमताले नै शान्तिपूर्ण रूपमा देश चुनावमा होमिएको महरको दाबी छ।