• ३० साउन २०८१, बुधबार

गणेश राईको सिंहदरबार यात्रा

blog

काठमाडौँ, साउन ३० गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजी सचिवालयमा गणेश राईलाई नियुक्त गर्नुभएसँगै उहाँ चर्चाको पात्र बन्नुभएको छ । 

खोटाङको विकट ठाउँ साविकको काउले गाविस हाल जन्तेढुङ्गगा गाउँपालिका वडा ३ मा जन्मनुभएका उहाँको जन्मँदै दुवै हात थिएन । दुवै हात नभएका कारण भविष्यमा के गर्ला ? कसरी गरेर खाला ? भन्ने उहाँको परिवारको लागि गम्भीर चिन्ताको विषय थियो । परिवारमा छ भाइमध्ये उहाँ साहिँला हुनुहुुन्छ । उहाँका दुई दाइ र आफूभन्दा साना तीन भाइ हुनुहुन्छ ।

हुर्कने–बढ्ने क्रममा उहाँले आफ्नो दैनिकीको काम आफैं गर्न थाल्नुभयो । घर नजिकैको जलेश्वरी प्राथमिक विद्यालयबाट कक्षा ५ सम्मको पढाइ पूरा गर्नुभयो । झण्डै अढाइ घण्टा पैदल हिँडेर पुग्नुपर्ने चिसापानी माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभयो । 

उहाँले खोटाङको साविकको सदरमुकाम दिक्तेलस्थित एक कम्प्युटर सेन्टरबाट कम्प्युटर सिक्नुभएको हो । त्यसबेला पनि दुवै हात नभएको मान्छेले कसरी कम्प्युर सिक्ने ? भन्ने जस्ता प्रश्नहरु उहाँका अगाडि तेर्सिन्थे ।  

उहाँले भन्नुभयो, “त्यो बेलामा कम्प्युटर कस्तो हुन्छ ? मोबाइल कस्तो हुन्छ, खासै गाउँमा आइसकेको थिएन । म कम्प्युटर सिक्छु भन्दा हात छैन कसरी सिक्ने ? भन्नेजस्ता कुरा गर्थे । दुई, चार दिनको अभ्यासपछि कम्प्युटर सिकाउने सरले भोलिदेखि आउनुस् भन्नुभयो र मैले मौका पाएँ ।”

उहाँ २०७२ सालमा अध्ययनकै सिलसिलामा काठमाडौं प्रवेश गर्नुभयो । अनेरास्ववियुका विद्यार्थी नेताबाट अहिलेका प्रधानमन्त्री ओलीसँग उहाँको भेट भयो । गणेश अध्ययनसँगै चित्रकला, अभिनयमा रुचि राख्नुहुन्छ । उहाँले ‘संसार यस्तै छ’, ‘काया’, ‘अन्यौल’ लगायतका टेलिसिरियल तथा साङ्गीतिक भिडियोमा अभिनय गर्नुभएको छ । 

उहाँले आगामी दिनमा देशको लागि केही गर्नुपर्छ भन्ने सोचाइ तथा योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कला क्षेत्रमा पनि राम्रो ठाउँमा अवसर पाए केही गर्न सकिन्छ भन्ने हो । मैले काम गर्दै गएको हो तर सफल नभएको हो, बाहिर देखिएको, नचिनिएको हो । मजस्तै अपाङ्गता भएको साथीलाई सहयोग गर्ने, समाज सेवाको कामलाई अगाडि बढाउने, देशको लागि केही गर्नुपर्छ भन्ने सोचाइ, योजना छ ।”

एमाले अध्यक्ष ओली २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री नियुक्त हुनुभएपछि उहाँले शहरी विकास मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालय काठमाडौंमा नियुक्ति पाउनुभयो । त्यो बेला ओली बाहिरिनु भएसँगै राई पनि सेवाबाट बाहिरिनुभयो ।

२०७४ सालमा ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएपछि राईलाई प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । २०७४ यता तत्कालीन प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको पालामा पनि उहाँ प्रधानमन्त्री कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । तर पछिल्लो समय दरबन्दी काटिएसँगै उहाँ सेवाबाट बाहिरनुभएको थियो । तर फेरि वर्तमान प्रधानमन्त्री ओलीले उहाँलाई तेस्रो पटक सचिवालयमा काम गर्ने अवसर दिनुभएको हो । 

बारम्बार प्रधानमन्त्री ओलीको रोजाइमा पर्नुको कारण के होला भन्ने जिज्ञासामा उहाँले अपाङ्गता भएको व्यक्तिले पनि अवसर पाएको खण्डमा अरु मान्छेले जतिकै काम गर्न सक्छन् भन्ने विचारका कारण आफू रोजाइमा परेको हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अपाङ्गता भएको मान्छेलाई अवसर दिनुपर्छ भन्ने उहाँको विचार छ । पछाडि परेकालाई अगाडि ल्याउनुपर्छ भन्ने सकारात्मक सोचले नै यस्तो भएको हो ।”

प्रधानमन्त्रीका सचिवालय सदस्य गणेश राईसँग सपना थामी, मनोजरत्न शाहीकेशब गुरुङले तयार पार्नुभएको भिडियो :

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।