निशा राई 
धरान, साउन २७ गते । खानेपानी महसुल वृद्धिविरुद्ध धरानका जनप्रतिनिधि, राजनीतिक दल, र स्थानीयवासीले पुन: उपमहानगरपालिका घेराउ गरेका छन् ।
खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्यवृद्धि गरेपछि आक्रोशित उपभोक्ताले करिब १५ दिनदेखि महसुल घटाउन माग गरी आन्दोलन गर्दै आएका हुन्।
गत बिहीबार उपमहानगरको गेट अगाडि आन्दोलन गरेपछि खानेपानी बोर्डका अध्यक्ष तथा नगरप्रमुख हर्कराज राईले आज वार्तामा आउन मौखिक रुपमा आग्रह गर्नुभएकाे थियो। नगरप्रमुख राईले १० दललाई मौखिक रुपमा वार्तामा बोलाएकोमा असहमति जनाउँदै पुनः आज उपमहानगरपालिका घेराउ गरेको नेपाली काङ्ग्रेसको धरान अध्यक्ष श्याम पोख्रेलले बताउनुभयो । १० दलको माग भनेको वृद्धि भएको महसुल घटाउनुपर्ने माग रहेको उहाँले बताउनुभयो ।
आन्दोलनमा 'जनता लुट्न बन्द गर', 'नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर', 'धराने जनतालाई गाली गर्न बन्द गर, खानेपानीको मूल्यवृद्धि फिर्ता गर, छाडा बोल्न पाइँदैन', 'जनतालाई ढाँट्न पाइँदैन,' 'सुरक्षाकर्मिलाई गाली गर्न पाइँदैन' लगायतका नारासहित सयौंको सङ्ख्यामा १० दल सहित नागरिकहरुले नाराबाजी गरेका थिए ।
आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने भन्दै नगरप्रमुख राईले पत्र लेखी आज २ बजे वार्तामा बोलाएपछि १० दलले तीन सूत्रीय मागसहित जाने भएको नेपाली काङ्ग्रेस धरानका अध्यक्ष पोख्रेलले बताउनुभयो ।
खानेपानी बोर्डका अध्यक्ष नगरप्रमुख राईले एकलौटी रुपमा मूल्यवृद्धि गरेको भन्दै धरानका जनप्रतिनिधि, राजनीतिक दलहरुले गत साउन ११ गतेदेखि मौन जुलुस निकाली वृद्धि भएको महसुलको बिल पुरानै दरमा कायम गर्न आन्दोलन सुरु गरेका थिए ।

 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                