• २३ वैशाख २०८१, आइतबार

सूर्यविनायकमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, वैशाख २३ गते । भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख दुई पार्टी नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवारले नगर प्रमुखको निर्वाचन जित्ने दाबी गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार वासुदेव थापा आफू २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएको र अहिले पनि निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले यस पाँच वर्षमा घोषणापत्रमा उल्लेख भएभन्दा भौतिक पूर्वाधारका काम धेरै भएकाले पु्नः आफूले निर्वाचन जित्ने दाबी गर्नुभयो । नेपाली काँग्रेसका उम्मेदवार निशान ढुङ्गेलले आफू निरन्तर राजनीतिक र सामाजिक काममा सक्रिय भएर सूर्यविनायकका जनतासामु भिजेकाले आफूले निर्वाचन जित्ने दाबी गर्नुभयो । 

सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६५ जना मतदाता रहेका छन् । उक्त मतदातामध्ये २४ हजार ३८५ जना महिला र २२ हजार ९८० जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।  सूर्यविनायक नगरपालिकामा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काँग्रेसबीच नै हुने भए पनि नगर प्रमुखको पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कल्पदीप राई, जनता समाजवादी पार्टीका मञ्जित लामा, आमूल परिवर्तन मसिहा पार्टीका मन महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राधिका रानाभाट र अन्य स्वतन्त्र गरी १२ जनाले नगर प्रमुखमा उम्मेदवारी दिएको कार्यालयले जनाएको छ ।