• २३ वैशाख २०८१, आइतबार

प्रतिस्पर्धामा तीन उम्मेदवार

blog

दीपकप्रसाद गौतम

वीरगञ्ज, वैशाख २३ गते  । वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकामा ५५ वटा मतदान स्थल तोकिएको छ । १४३ वटा मतदान केन्द्र कायम गरेको छ । महानगरपालिकामा एक लाख २४ हजार ६४७ जना मतदाता छन् । 

जसपाका तर्फबाट प्रमुखका उम्मेदवार सिंह २०५४ सालमा नेपाली काँग्रेसबाट वडा सदस्यमा र ०६२ मा वडाध्यक्षमा विजयी हुनुभएको थियो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट र ०७४ मा वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखमा उम्मेदवार बनिसक्नुभएको थियो भने यस निर्वाचनमा गठबन्धनको उम्मेदवार बन्नुभएका सिंह बलियो प्रतिस्पर्धी देखिनुभएको छ । 

वीरगञ्जवासीले झेलिरहेका समस्या समाधान गर्नका लागि र वीरगञ्जको पहिचानका लागि आफू फेरि उम्मेदवार बनेको बताउँदै उहाँले वीरगञ्जवासीको दिनचर्यासँग जोडिएका हरेक समस्या, शिक्षा, स्वास्थ्य, सरसफाइका समस्या आफू नगर प्रमुख भएपछि समाधान गर्ने दाबी गर्नुभयो । एमलेका तर्फबाट उम्मेदवार हुनुभएका सरावगी ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभएको थियो । 

हालै एमालेमा प्रवेश गर्नुभएका उहाँले गत कार्यकालमा दुई वर्ष बुझ्न समय लागेको र त्यसपछि कोभिड–१९ को महामारीले पूरा हुन नसकेका राम्रा कामलाई निरन्तरता दिनका लागि पुनः उम्मेदवारी दिएको बताउनुभयो । ग्रेटर वीरगञ्ज, सिर्सिया कोरिडोरको योजनालगायतका योजना अगाडि बढाएको र वास्तविक महानगर बनाउनका लागि चारदेखि पाँच हजार करोड रुपियाँ लाग्छ भन्दै आफूले ती योजना पूरा गर्ने बताउनुभयो । उहाँले वीरगञ्जवासीले मत दिएर विजयी बनाउनेमा ढुक्क छु भन्नुभयो । 

राप्रपाबाट उम्मेदवार हुनुभएका गिरीश गिरी पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । हत्या गरिनुभएका वीरगञ्जका तत्कालीन प्रमुख गोपाल गिरीका छोरा गिरीश पारिवारिक पृष्ठभूमिका आधारमा निर्वाचनमा होमिनुभएको छ । 

उहाँले वीरगञ्जलाई समुन्नत बनाउने दृष्टिकोण आफूसँग मात्र रहेको दाबी गर्दै सार्वजनिक यातायात पनि नभएको वीरगञ्ज महानगरलाई आफूले स्याटेलाइट सिटीका रूपमा विकास गर्ने बताउनुभयो । आधुनिक ढङ्गले विदेशी प्रविधिबाट लामखुट्टे नियन्त्रण गर्ने उहाँले दाबी गर्दै पुरानो वीरगञ्जलाई यसको ऐतिहासिकता र गरिमा जोगाउँदै आधुनिक वीरगञ्ज बनाउने योजना सुनाउनुभयो ।