• ३२ साउन २०८१, शुक्रबार

वैदेशिक रोजगारीका ठगी उजुरी सन्ताउन्न प्रतिशतले वृद्धि

blog

काठमाडौँ, साउन २४ गते  । वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ । 

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । 

विभागका अनुसार आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ उजुरी दर्ता भएका थिए । आव २०७८/७९ मा वैदेशिक रोजगारी ठगीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार ७४२ वटा थिए । तीन आवको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो आव २०८०/८१ मा सात हजार ७६३ उजुरी दर्ता भएका छन् । यो हेर्दा उजुरी गर्ने उच्च दरमा बढेको स्पष्ट हुन्छ । 

उजुरीको फस्र्योट दर पचास प्रतिशत

वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाको मात्रै फस्र्योट भएको छ ।  विभागका अनुसार गत आव २०८०/८१ सात हजार ७६३ उजुरी दर्ता भएका छन् । जसमध्ये तीन हजार ८३७ फस्र्योट गराउँदा ३० करोड ९३ लाख ८९ हजार ५१२ बराबरको रकम क्षतिपूर्ति भराएको हो । 

विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा तीन हजार ४०५ उजुरी दर्ता भएका छन् । जसमध्ये दुई हजार १३१ वटा उजुरी फस्र्योट भए भने ८६ वटा उजुरीमा मिलापत्र गराइएको छ । जसबाट एक करोड ७६ लाख एक हजार ६९८ रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये एक हजार १९० वटा उजुरी फस्र्योट हुन बाँकी रहेका छन् । 

यस्तै सो अवधिमा विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ वटा उजुरी दर्ता भएका छन् । सो शाखामा दर्ता भएका उजुरीमध्ये ४५५ वटाको मिलापत्र गराइएको छ भने ३९० वटा उजुरी अदालतमा मुद्दा दायर गरिएको छ । सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत २४ करोड ४९ लाख ६९ हजार ५२९ रुपियाँ भराइएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । उहँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये दुई हजार ७१ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ । 

त्यसै गरी सो अवधिमा विभागमा उद्धार राहत तथा समन्वय शाखामा एक हजार ४४२ वटा उजुरी भएकोमा ७८७ वटा उजुरीको फस्र्योट गरी पीडितलाई चार करोड ६८ लाख १८ हजार २८५ रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये १५२ जनालाई आपसी सहमति गराएको छ भने ४२ वटा उजुरी तामेलीमा राखेको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १७३ जनालाई विभिन्न देशबाट उद्धार स्वदेश ल्याउन सफल भएको जनाएको छ । 

 विभागका निर्देशक गुरुदत्त सुवेदीले आव २०७९/८० मा विभागमा दर्ता भएका उजुरीको फस्र्योट दर ११ प्रतिशतमा सीमित रहेकोमा पछिल्लो वर्ष ५० प्रतिशत फस्र्योट भएको बताउनुभयो ।

पछिल्लो दुई वर्षको बिचमा विभाग र प्रहरीमा परेको उजुरीका सङ्ख्या हेर्दा वैदेशिक रोजगारीमा जाने सङ्ख्यासँगै ठगीका उजुरी पनि बढेको पाइएको छ ।  विभागका अनुसार गत आवमा २०८०/८१ मा सात लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

 विभागमा मध्यपूर्वका देश खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । विभागका अनुसार आव २०८०/८१ मा ३९० मुद्दा अदालतमा दायर भएका छन् । जसमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका रहेका छन् । अदालतमा दायर भएका मुद्दाको बिगो रकम माग अर्बको हाराहारी भएको विभागले जनाएको छ ।