• २२ साउन २०८१, मङ्गलबार

सप्तरीमा एकको शव फेला

blog

देवरामप्रसाद यादव

सप्तरी, साउन २२ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही वीरपुरस्थित कुनौली सडक खण्डमा एक जनाको शव फेला परेको छ । यसरी फेला पर्नेमा सिराहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव सडकको छेउमा धानखेतमा घोप्टो अवस्थामा मङ्गलवार फेला परेको हो ।

एक जनाको शव धान खेतमा देखिएको सूचना स्थानीयले गरेपछि घटना स्थलमा अनुसन्धानका लागि खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अवधेश कुमार झाले जानकारी दिनुभयो । 

शव परीक्षणका लागि राजविराज ल्याइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा उद्योगमा मुन्सीको रूपमा रहेको थिए । स्थानीयका अनुसार कर्ण अत्यधिक मदिरा सेवन गर्ने र सधैँ राती फर्कने गर्दथे । राती पानी परेकोले कोठातिर फर्कने क्रममा खेतमा जमेको पानीमा लडेर उहाँको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रहरीका अनुसार मेडिकल रिपोर्ट नआएसम्म मृत्युको कारणबारे भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बताउनुभयो ।