• १ भदौ २०८१, शनिबार

प्रम हसिना विदेश पलायन

blog

बङ्गलादेशमा प्रधानमन्त्री सेख हसिना वाजेदले पद त्याग गरेपछि खुसियाली मनाउँदै आन्दोलनकारी । तस्बिर : अलजजिरा

काठमाडौँ, साउन २२ गते । झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले पद त्याग गर्दै देश छाड्नुभएको छ । बङ्गलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाउनुभएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्याग्न बाध्य हुनुभएको हो । उहाँ विगत १६ वर्षदेखि लगातार निर्वाचित हुँदै पाँचौँ पटक बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय जनताको तीव्र आलोचना र आन्दोलन थेगिनसक्नु भएपछि जनताको चाहनाको सम्मान गर्दै सत्ता छाडेर भारततर्फ लाग्नुभएको छ । 

सोमबार हजारौँ प्रदर्शनकारीले प्रधानमन्त्री निवासमै प्रवेश गरेर तोडफोड थालेपछि हसिनाले राजीनामा दिनुभएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । राजीनामासँगै टेलिभिजनमार्फत उहाँले देशवासीका नाममा सम्बोधन गर्न चाहे पनि उग्र प्रदर्शनका कारण हेलिकोप्टरमार्फत भारतको पश्चिमबङ्गालको त्रिपुरा हुँदै दिल्लीनजिक पुग्नुभएको छ । उहाँ अब फेरि राजनीतिक जीवनमा नफर्कने सोच बनाउनुभएको छोरा सजिब वाजेदले बिबिसीसँगको अन्तर्वार्तामा बताउनुभएको छ । राजनीतिक अस्थिरतायुक्त देशलाई विकासको पथमा अगाडि बढाउनुभएको उल्लेख गर्दै सजिबले पछिल्लो घटनाले हसिनालाई निराश पारेको बताउनुभयो । जीवन रक्षाका लागि परिवारको उच्च दबाबका बिच राजीनामा दिएको प्रस्ट्याउँदै सजिबले उहाँ अब भारतबाट बेलायत जान सक्ने सम्भावना रहेको बताउनुभयो । 

बङ्बन्धुकी छोरीको सत्ता यात्रा

हसिना बङ्गलादेशका संस्थापक तथा बङ्गलादेशका पिता सेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । पाकिस्तानबाट बङ्गलादेशलाई छुट्टै देश बनाउन उहाँको अहम् भूमिका थियो तर पछि नेतृत्वलाई लिएर बढ्दै गएको विवादका बिच सन् १९७५ मा सैन्य कु हुँदा रहमान र परिवारका अन्य सदस्यको बङ्गलादेशमा हत्या भएको थियो । त्यो बेला हसिना र उहाँकी बहिनी विदेशमा भएकाले बाँच्न सफल हुनुभएको थियो । सो हत्याकाण्डपछि भारत निर्वासनमा रहेका दुई बहिनीलाई बङ्गलादेशका जनताको पूर्ण सहानुभूति  मिल्यो ।

सन् १९८१ ताका हसिना स्वदेश फर्किएर अरू राजनीतिक दलसँग मिलेर देशमा प्रजातन्त्र स्थापनार्थ आन्दोलनमा सहभागी हुनुभयो । लगत्तै सन् १९९६ को निर्वाचनमा जित हासिल गरेर पहिलो पटक बङ्गलादेशको प्रधानमन्त्री हुनुभयो । त्यसपछि सन् २००१ को निर्वाचनमा भने विपक्षी बेगम खालिदा जियासँग पराजित हुनुभयो । त्यसपछि फेरि सन् २००९ को निर्वाचनपछि लगातार हालसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ता सम्हाल्नुभएको थियो । उहाँको पाँचौ कार्यकाल सुरु भएको धेरै भएको थिएन । 

सत्ताको बागडोर सेनाको हातमा

प्रधानमन्त्री हसिनाले राजीनामासहित देशबाट पलायन भएपछि बङ्गलादेशको शासनसत्ता त्यहाँको सेनाको हातमा पुगेको छ । वर्तमान सरकारको नेतृत्वकर्ताले राजीनामा दिएलगत्तै शासकीय पद्धतिको बागडोर सेनाको हातमा पुगेको हो । 

देशको अवस्था जटिल हुँदै गएपछि बङ्गलादेशका प्रधान सेनापतिले अन्तरिम सरकार गठनको पहल थाल्नुभएको छ ।  प्रधान सेनापति वकर उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको तयारी सुरु भएको जानकारी दिनुभयो । सबै जिम्मेवारी आफूले लिएकाले प्रदर्शन छाडेर घर फर्कन आन्दोलनकारीलाई आग्रह गर्नुभयो । तर सरकारको नेतृत्वकर्ताको विषयमा राष्ट्रपति मोहम्मद सहबुद्दिनसँग छलफल गर्नुभएको छ । प्रमुख दललाई समेत सरकारमा समावेश गरेर अघि बढ्ने पहल थालिएको छ । सरकारी सेवामा प्रजातन्त्रका सेनानीका सन्तानलाई आरक्षणको व्यवस्था खारेज गर्ने वा नगर्ने मुद्दासँगै सुरु भएको आन्दोलन हिंसात्मक बन्दा हसिनाको सत्ता सकिएको  हो । त्यहाँको सर्वोच्च अदालतले आरक्षणको सुविधा अत्यन्त न्यून मात्र राख्ने निर्णय गरे पनि आन्दोलन रोकिएन । 

बङ्गलादेश स्थापनाको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका परिवारका सन्तानका लागि ३० प्रतिशतसम्म आरक्षण प्रदान गरिँदै आएको थियो । त्यसविरोधी आन्दोलनमा तीन सयभन्दा बढीको मृत्यु भएको छ । आरक्षणबाट त्यो आन्दोलन प्रधानमन्त्रीविरुद्ध मोडियो । आन्दोलनले आइतबार अत्यधिक हिंसात्मक रूप लिई एकै दिन ९१ जनाको मृत्यु भएपछि प्रदर्शनी सरकारको नियन्त्रण बाहिर गयो ।  

सोमबार आन्दोलन नियन्त्रणबाहिर गएपछि बाध्य भई प्रधानमन्त्री हसिनाले राजीनामा दिनुभयो ।  त्यहाँको अवस्था तनावग्रस्त बनेकाले देशव्यापी रूपमा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । उच्च सुरक्षा अपनाउँदै हवाई सेवासमेत बन्द गरिएको छ ।