घोराही समाचारदाता
घोराही, वैशाख २२ गते । स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावी प्रचारसँगै मतदाता भेटघाट र सभालगायतका कार्य भइरहेका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरू खटिएका छन् ।
निर्वाचनका लागि दलहरूले प्रचारप्रसारसँगै भेटघाटलाई तीव्र बनाएका बेला प्रदेश निर्वाचन कार्यालयले निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि घोराहीमा तालिम सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय, दाङको आयोजनामा बुधबारदेखि तालिम सुरु भएको हो ।
प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले तीन दिनसम्म चल्ने तालिममा मतदान अधिकृत र सहायक अधिकृत गरी ९२२ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । तालिम सकेपछि स्थानीय तह निर्वाचनका लागि वैशाख २७ गतेदेखि निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरू आआफ्नो मतदान केन्द्रमा खटिनेछन् । दाङमा १० पालिकामा १५३ मतदान स्थलमा ४६१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । चार लाख नौ हजार नौ सय मतदाता छन् । तालिमको उद्घाटन गर्दै दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचनलाई सफल बनाउनका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृतलगायतका कर्मचारीको महìवपूर्ण भूमिका हुने बताउनुभयो ।