• २ भदौ २०८१, आइतबार

हैजालाई हेलचेक्राइँ नगरौँ

blog

काठमाडौँ, साउन २१ गते । गर्मी तथा वर्षयाममा हैजाको जोखिम बढ्ने गर्छ । जुनदेखि सेप्टेम्बर महिनामा हैजालगायत अन्य प्रकारका झाडापखाला प्रकोप देखिने चिकित्सक बताउँछन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार साउन यता काठमाडौँ, ललितपुर, कैलाली र  प्युठान गरी चार जिल्लाबाट २७ जनामा हैजा पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.मिलन बज्राचार्यले साउन सुरु भएदेखि अस्पतालमा हैजाका बिरामी बढ्दै गएको बताउनुहुन्छ ।

हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण लाग्ने अति सङ्क्रामक झाडापखाला भएको डा. बज्राचार्यको भनाइ छ । उहाँका अनुसार हैजा दूषित पानीको माध्यमबाट सर्ने गर्छ ।

हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेको एक/दुई दिनमा लक्षण देखिने उहाँ बताउनुभयो ।

हैजा भएका मानिसको दिसाबाट उक्त कीटाणुहरू निस्कने उहाँको भनाइ छ । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा गई सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने उहाँ बताउनुहुन्छ ।

त्यसका अतिरिक्त बासी खानेकुरा खाएमा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा एक व्यक्तिबाट अर्कोमा सर्छ ।

उहाँका अनुसार निरन्तर पातलो (चौलानी) जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन् । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्दै गई जलवियोजनको समस्या निम्तिने जानकारी उहाँले दिनुभयो ।

जलवियोजनका कारण तौल घट्ने, जिब्रो सुख्खा हुने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने प्रेसर घट्ने रक्त सञ्चार नहुने र आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । विभिन्न अध्ययनले हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने देखाएको छ ।

हैजाको जोखिम सबै मानिसमा हुने गर्छ । ग्याष्ट्रिकको अमिलोपन घटाउने औषधी गर्ने मानिसमा हैजाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उहाँ बताउनुहुन्छ ।

उहाँले हैजा भएका बिरामी घरमा नै उपचार गरेर जलवियोजन भएर धेरै नै समस्या देखिएपछि मात्र अस्पतालमा आउने बताउँदै धेरै पटक झाडापखाला भएमा, बिरामीले खाना खान छोडेमा तुरुन्त अस्पतालमा ल्याउने उहाँको सुझाव छ ।

 हैजाको उपचार गरिएन भने जटिल स्वास्थ्य समस्या आएर ५० प्रतिशत बिरामीको मृत्यु हुने गर्छ । बिरामीले समयमा नै सही उपचार पाएमा मृत्युलाई एक प्रतिशतभन्दा कममा झार्न सकिने उहाँ बताउनुहुन्छ ।

हैजा लाग्नबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिन उहाँको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।”

भिडियो : केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।