• १३ साउन २०८१, आइतबार

ललितपुर महानगरमा रोचक प्रतिस्पर्धा

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, वैशाख २२ गते । ललितपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार चिरिबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकारले ललितपुर महानगरपालिकालाई सम्पदा सहरका रूपमा संरक्षण एवं विकास गर्ने चुनावी एजेन्डा सार्वजनिक गर्नुभएको छ ।  पाँच वर्षपछि पुनः प्रतिस्पर्धामा उत्रिनुभएका नेपाली काँग्रेसका महर्जन र नेकपा एमालेका उम्मेदवार व्यञ्जकारको चुनावी एजेन्डामा महानगरपालिकाको विकास, समृद्धि, सम्पदा संरक्षण, संवद्र्धन र पुनः निर्माण केन्द्रित रहेका छन् । 

स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसार कार्यक्रम पनि व्यापक बनाइएका छन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार चिरिबाबु आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “प्रचारप्रसारका लागि घरदैलोमा पुग्दा मतदाताले मलाई खोजेका छन् ।” 

यसअघि गर्न नसकेका काम अबको कार्यकालमा सम्पन्न गर्ने सङ्कल्प उहाँको छ । उहाँले विकास निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी मात्र नभई पुराताìिवक सम्पदा संरक्षण, संवद्र्धन, जीर्णोद्धार र पुनर्निर्माणमा विशेष जोड दिनुभएको छ । प्रत्येक वडा, टोल, गल्ली र बस्तीसम्म पुगेर मतदाताको राय, सुझाव र माग समेट्ने गर्नुभएका महर्जनले ललितपुरलाई सांस्कृतिक सम्पदाको सहरका रूपमा विकास गर्ने सङ्कल्प रहेको बताउनुभयो । 

उहाँको सङ्कल्पपत्रमा भूकम्पमा भत्किएका सम्पदाको पुनर्निर्माण, राजा नरेन्द्रदेव, भक्तपुरका तान्त्रिक देवबन्धु आचार्य र मच्छिन्द्रनाथ बोकेर ल्याउने ललित ज्यापूको सालिक स्थापनालगायत सम्पदा संरक्षण गर्ने उल्लेख छ । त्यस्तै नेकपा एमालेबाट प्रमुखका उम्मेदवार व्यञ्जनकारले ललितपुरलाई समृद्ध तथा संस्कृति सम्पदाको सहरका रूपमा स्थापित गरिने योजना सुनाउनुभयो । उहाँले ५९ बुँदे निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।   

ललितपुरमा मूर्त तथा अमूर्त कला, संस्कृति छन् । एमाले महानगर कमिटीका उपाध्यक्ष मोहनविक्रम सिलवालले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण गर्नु आफ्नो उम्मेदवारको महìवपूर्ण एजेन्डा भएको बताउनुभयो । महानगरीय अस्पताल, निःशुल्क फोहोर सङ्कलन, फोहोर तथा ढल प्रशोधन, युवा तथा महिलाका लागि रोजगारमूलक उद्यमशीलता, नक्सा प्रणाली, सुविधासम्पन्न सामुदायिक विद्यालय, प्राविधिक शिक्षा र फ्रि–वाईफाईलगायतका सङ्कल्प एमालेको घोषणापत्रमा समेटिएको छ । 

सहुलियत मूल्यमा विद्युतीय चुलो, विद्युतीय सवारी, शिशु स्याहार केन्द्र, द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र, खानेपानी, निःशुल्क शिक्षा, घरघरमा स्वास्थ्य बीमा तथा जनताको दैनिक जीवनलाई सहज बनाउने गरी नागरिकमैत्री सुशासन व्यवस्था गर्ने प्रतिबद्धता उहाँको छ । 

गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बाबुराजा वज्राचार्य र एमालेका उम्मेदवार मन्जली शाक्य महानगरका सहरलाई उज्यालो बनाउने अभियानअन्तर्गत उज्यालोसहितको स्मार्ट सडक र सुरक्षित बनाउने योजना रहेको बताउनुहुन्छ ।