• ४ पुस २०८१, बिहिबार

गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह

blog

नवराज कट्टेल/धिरज दाहाल

विराटनगर, वैशाख २२  गते । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा स्थानीय तह निर्वाचन केन्द्रित गठबन्धन गरिएको बताउनुभएको छ । नेपाली काँग्रेस मोरङले विराटनगरमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित आमसभालाई बुधबार सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रलाई संस्थागत गर्न गठबन्धन गरिएको बताउनुभएको हो ।

उहाँले देउवाले भन्नुभयो, “राष्ट्रिय आवश्यकताका आधारमा गरिएको गठबन्धनप्रति कुनै शङ्का गर्न जरुरी छैन ।” उहाँले नेपाली काँग्रेस धोका खाएर पनि कसैलाई धोका दिन नसक्ने पार्टी भएकाले गठबन्धनप्रति इमानदार बन्न सबैसँग आग्रह गर्नुभयो । “क्षणिक स्वार्थमा काँग्रेसले कसैलाई धोका दिन सक्दैन”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “मौका गुमाउनु गलत हुनेछ ।”  उहाँले स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई सङ्घ र प्रदेशको निर्वाचनसम्म पु-याउँदा मात्रै लोकतन्त्र संस्थागत हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । 

गठबन्धन दलहरूबीच भएको चुनावी तालमेलअनुसार विराटनगरको उपप्रमुखका उम्मेदवार जनता समाजवादीका नेता अमरेन्द्र यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मत माग्नुभयो ।उहाँले वामपन्थीहरूलाई दिइएको बहुमतको सरकार सञ्चालन हुन नसक्दा अन्य दलहरूको आग्रहमा आफू प्रधानमन्त्री हुनु परेको बताउँदै अहिले त्यही मर्मअनुसार गठबन्धन गर्नुपरेको सम्झन सबै कार्यकर्तासँग अपिल पनि गर्नुभयो ।  

उहाँले आफूलाई प्रधानमन्त्री हुन र रहन मन नहुँदानहुँदै पनि अन्य दलका नेताहरूको आग्रहले राष्ट्रिय आवश्यकताका आधारमा प्रधानमन्त्री भएको स्मरण गर्नुभयो । स्थानीय तहका सरकारलाई अधिकार सम्पन्न बनाएर मात्रै नागरिकको घर आँगनमा लोकतन्त्र भित्रिने बताउँदै उहाँले आगामी दिन क्षमता बढाउन सङ्घीय सरकारले पहल लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन केन्द्रीय पहिलो सभा विराटनगरले आयोजना गरेको र यसले देशभर सकारात्मक सन्देश दिने बताउनुभयो । उहाँले प्रजातन्त्र पुनस्र्थापनाताका पनि गठबन्धन भएको स्मरण गर्दै अहिलेको गठबन्धन राजनीतिक दलहरूबीच एकताको प्रतिविम्बका लागि भएको विश्वास व्यक्त गर्नुभयो । 

राजनीतिक स्थिरता र लोकतन्त्रको विकासका लागि गठबन्धनलाई कसिलो बनाएर लैजानुपर्नेमा नेता पौडेलको जोड थियो । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन दुश्मनको मैदान नभएर मित्रवत् प्रतिस्पर्धा गर्ने अवसर भएको बताउनुभयो । 

अर्का नेता डा. शेखर कोइरालाले अहिलेको स्थानीय तह निर्वाचन केन्द्रित गठबन्धनको प्रभाव प्रदेश र सङ्घको निर्वाचनसम्म लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले सत्ता गठबन्धन र सरकारलाई यसको प्रभाव खासै नपर्ने भए पनि लोकतन्त्रलाई संस्थागत गर्न धेरै ठूलो महìव रहेको बताउनुभयो । 

सभालाई नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, सहमहामन्त्री डिना उपाध्याय, डा. डिला सङ्ग्रौला, केन्द्रीय सदस्यद्वय अमृत अर्याल र भीम पराजुली तथा प्रदेश १ का अध्यक्ष उद्धव थापाले सम्बोधन गर्नुभएको थियो ।  सभामा सत्ता गठबन्धनबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला र उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले समेत आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कोइराला काँग्रेस र यादव जनता समाजवादी पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख उम्मेदवार  हुनुभएको छ ।